सरकारले औद्योगिक अशान्ती निम्त्यायो, उद्योगको बिजुली काट्नु खेदपूर्ण, ‘फर्जी बिल तिर्न सक्दैनौ’

0
Shares

नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीहरुले नियमित आफ्नो बिजुलीको बिल तिर्दै आइरहेको अवस्थामा विवादित प्रिमियमको विषय उठाएर उद्योगको बिजुली काट्नु खेदपूण रहेको र यसले औद्योगिक अशान्ती निम्त्याउने बताएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै परिसंघले उद्योग व्यवसायीसँग छलफल नै नगरी एक्कासी उद्योगहरुको लाइन काटिदिँदा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने तथा लगानीको वातावरण बिथोलिने अवस्था आएको बताएको हो ।

परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगी व्यवसायीहरुले नियमित रुपमा आफ्नो बिजुलीको बिल तिर्दै आइरहेको बताउँदै डेडिकेटेड र ट्रंकलाइनको बिषयमा भने विवाद रहेको प्रष्ट पारे । उनले ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए। साथै उनले विद्युत प्राधिकरणले काटेको उद्योगीहरुको बिजुलीको लाइन पुनः जडान गरेर समस्याको समाधान गर्न माग समेत गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले आर्थीक मन्दीले उद्योगहरु प्रभावित भएर ३० प्रतिशत क्षमतामा चलिरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा बिजुली काटेर उद्योग बन्द गराउन लागेको आरोप लगाए । उनले डेडिकेटेड र ट्रंकलाइनको विवाद उठेका बेलामा पनि छुट सहितको बिल आफूहरुले तिरिरहेको बताए।

थापाले बिनाप्रमाण पैसा मागेर सरकारले बिजुली काटेर उद्योग बन्द गराएको बताएका छन् । ‘नेपाल विद्युत् प्राधिकरणले साढे ३ वर्षपछि प्रयोग नै नगरेको बिजुलीको पैसा माग्नु र आज आएर बिजुली काटेर उद्योग बन्द गर्नु खेदजनक छ,’ उनले भने ।

यस्तै, उद्योगी जगदीश अग्रवालले सबै उद्योगले नियमित बिल अनुसार बिजुलीको पैसा तिरेको भन्दै फर्जी बिलको पैसा तिर्न नसक्ने बताए। उनले सरकारले उच्चस्तरीय अधिकार सम्पन्न समिति बनाइ यसको निकास दिनुपर्नेमा जोड दिए । उनले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको पैसा तिर्न नसकिने भन्दै डेडिकेटेड र ट्रंक लाइनकोे पैसा लिने हो भने प्राधिकरणले कानुनबमोजिम बिल दिनुपर्ने बताए । सरकारले बिजुली काटेर उद्योग बन्द गराएर औद्योगिक अशान्ती निम्त्याएको उनको भनाई थियो ।

यसैगरी व्यवसायी विष्णु न्यौपानेले विद्युत महशुल नियमन आयोगले तोके अनुसार आफूहरु बिजुलीको बिल तिर्न तयार रहेको बताए । तर, सरकार र प्राधिकरणले उद्योगहरुले बिजुली प्रयोग गरेको टाइम अफ दि डे (टीओडी) मिटरको डाटा उपलब्ध गराउनुपर्नेमा जोड दिए । ‘टीओडी अनुसारको बिल तिर्न हामी तयार छौ, सो डाटा हामीलाई दिनुपर्यो’, उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।