पाँच महिनामा १७२ कम्पनी दर्ता हुँदा झण्डै एक खर्ब लगानी प्रतिबद्धता

0
Shares

चालु आर्थिक वर्षको पाँच महिनामा स्वदेशी र विदेशी गरी कूल १७२ उद्योग दर्ता भएका छन् ।उद्योग विभागका अनुसार गत पाँच महिनाको अवधिमा दर्ता भएका उक्त उद्योगहरुबाट ९४ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

मंसिरसम्ममा दर्ता भएका १७२ उद्योग मध्ये साना उद्योग १३७ वटा, ठूला उद्योग २१ र मझौला उद्योग १४ वटा दर्ता भएका छन् । विभागले मंसिरसम्ममा ८० वटा ठूला, ८५ वटा मध्यम र २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो ।

यता मंसिर महिनामा मात्रै ३ अर्ब ४३ करोडको स्वदेशी तथा विदेशी लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । मंसिर महिनामा ३१ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये साना उद्योग २९ वटा दर्ता भएका छन् भने ठूला र मझौला उद्योग १–१ वटा दर्ता भएका छन् ।

चालु आवको पाँच महिनाको अवधिमा दर्ता भएका १७२ नयाँ उद्योगले १२ हजार ७६७ जनालाई रोजगारी सृजना हुने विभागले जनाएको छ । मंसिर महिनामा मात्रै दर्ता भएका ३१ उद्योगले १ हजार ४१२ जनालाई रोजगारी प्रदान गर्ने जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिना (साउन देखि मंसिर)सम्ममा १९९ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । उक्त उद्योगहरुले २० अर्ब ६० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । यी उद्योगहरुबाट १० हजार १२० रोजगारी सृजना हुने विभागले जनाएको छ ।

मंसिर महिनामा २१ वटा उद्योगका लागि २ अर्ब २५ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।मंसिरमा विदेशी लगानी प्रतिवद्धता जनाएका उद्योगहरुबाट एक हजार ३५० रोजगारी सृजना हुनेछ ।

मंसिरमा एसपीए र एसएसएमार्फत् ३ वटा उद्योगमा ३० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार मंसिरमा नयाँ उद्योग, एसपीए, एसएसए र टीटीए मार्फत २ अर्ब ५६ करोड १९ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको हो।

विभागका अनुसार मंसिरसम्ममा १ वटा प्याटेन्ट दर्ता भएको छ भने २ हजार १ सय ३८ वटा ट्रेडमार्क दर्ता भएको छ । साथै, यस अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)/सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत् २१ वटा उद्योगमा ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

५ महिनाको अवधिमा व्यवसायिक भिसा मार्फत ८८७ लगानीकर्ता, ८० प्रतिनिधि र १९६ आश्रित लगानीकर्ता नेपाल आएका छन् । त्यसैगरी विज्ञापनका लागि र प्रविधि हस्तान्तरण सम्झौताका लागि एक एक वटा गैर–पर्यटकीय भिसा प्रदान भएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म ६ हजार ५८ उद्योगहरुका लागि ४ खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपैयाँको लगानी प्रतिबद्धता आएको जनाइएको छ । ती उद्योगहरुबाट ३ लाख १९ हजार २ सय १७ जनाले रोजगारी पाउने विभागको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।