हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बिहान बाँडफाँड हुने, कसैको पनि हात खाली नहुने

0
Shares

हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणमा जारी गरेको आईपीओ भोलि पुस ११ गते बुधबार बिहान १० बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान बालुवाटारस्थित एक पार्टी प्यालेसमा सेयर बाँडफाँडका कार्यक्रम तय गरिएको हो ।

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिएका योग्य सबै आवेदकले सेयर हात पार्ने भएका छन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा सबै आवेदकले १० कित्ता सेयर हात पार्नेछन् भने यसरी १० कित्ता बाँडफाँड गरी बाँकी रहेको सेयर थप १० कित्ताका दरले पुगेजति आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार २० कित्ताभन्दा धेरै आवेदन दिएकामध्ये आधाभन्दा बढीले २० कित्ता कित्तासम्म सेयर हात पार्ने छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रणालीमा प्रविष्ट भएको अन्तिम दिनको तथ्याङ्क अनुसार कुल १६ लाख ६० हजार २२ वटा आवेदन परेको थियो । विगतका ट्रेण्डलाई हेर्ने हो भने सि-आश्वा प्रणाली, दोहोरो आवेदन र सस्पेक्टेड एप्लीकेन्टलाई रद्द गर्दा करिब एक लाख हाराहारीमा आवेदन रद्द हुनसक्ने अवस्था देखिन्छ । यदि एक लाख आवेदन रद्द भएको खण्डमा हिमालयन रि इन्स्योरेन्समा सेयर पाउने आवेदक १५ लाख ६० हजार माथि कायम हुनेछ ।

यस आधारमा हिमालयन रि इन्स्योरेन्सको सेयर बढीमा २० कित्ताको दरमा वितरण हुने छ । विगतमा रद्द भएको अवस्थालाई हेर्दा हिमालयन रि इन्स्योरेन्सको आईपीओमा अधिकतम  २० कित्ता पाउने सेयर पाउने भाग्यमानी आवेदक ९ लाख २५ हजार हाराहारीमा हुनेछ । बाँकी सबैले १० कित्ता सेयर हात पार्नेछन् ।

पुस २ गते सोमबार सेयर बन्द हुँदासम्म कम्पनीको र्आपीओमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँको सेयर माग परेको सिडिएससीको तथ्याङ्क छ ।

कम्पनीले मंसिर २७ गते बुधबारदेखि सर्वसाधारणमा आईपीओमा निष्काशन सुरु गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा गएका, कम्पनीका कर्मचारी तथा सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।