तीन कम्पनीले १ करोड ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेबोनसँग मागे अनुमति

0
Shares

तीन कम्पनीले सर्वसाधारणमा १ करोड ३५ लाख ६ हजार २०१ कित्ता आईपीओ सेयर निष्कासन गर्ने भएका छन् । ह्याम्स हस्पिटल, लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेड र रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् ।

सेबोनका अनुसार ह्याम्स हस्पिटलले १८८ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २८८ रुपैयाँ दरमा ११ लाख २५ हजार कित्ता, लाफिङ्ग बुद्ध पावर नेपालले अंकित मूल्य १०० रुपैयाँमा ६५ लखा ७७ हजार कित्ता र रिज लाइन इनर्जी लिमिटेडले ५८ लाख ४ हजार २०१ कित्ता आईपीओ बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो ।  आईपीओ बिक्रीका लागि रिज लाइन इनर्जी लिमिटेडले मङ्सिर २५ गते सोमबार, लाफिङ्ग बुद्ध पावर नेपालले पुस २ गते सोमबार र ह्याम्स हस्पिटलले पुस ६ गते शुक्रबार सेबोनमा निवेदन पेश गरेका हुन् ।

हस्पिटल क्षेत्रबाट आईपीओ निष्काशनका लागि आवेदन दिने ह्याम्स हस्पिटल पहिलो कम्पनी बनेको छ । यसअघि नर्भिक र स्टार हस्पिटल लगायत पनि आईपीओ जाने तयारीमा रहेपनि ती कम्पनीहरुले तयारी पूरा नगरीसकेकाले यो हस्पिटल नै पहिलो हुने देखिन्छ । अन्य अस्पतालहरु पनि आईपीओमा जाने तयारीमा छन् । ह्याम्सले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारण गरी कुल ३२ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याउनेछ । कम्पनीले प्रतिकित्ता २८८ रुपैयाँ दरमा ११ लाख २५ हजार कित्ता आईपीओ बिक्रीका ल्याउने भएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै लफिङ्ग बुद्ध पावरले ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता आईपीओ ल्याउन पुस २ गते निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणका लागि उत्तः सेयर जारी गर्ने बताएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा सेयर निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

साथै रिज लाइन इनर्जी लिमिटेडले पनि ५८ करोड ४ लाख २० हजार १०० रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ५८ लाख ४ हजार २०१ कित्ता आईपीओ बिक्रीका लागि मङ्सिर २५ गते बोर्डसँग अनुमति मागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ जारी गर्न अनुमति मागेका तीनवटै कम्पनीले बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्काशन गर्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ