डिएचआईको वार्षिक आम्दानी ५१% ले बढ्यो, ६४ करोडको कारोबार

0
Shares

डिस मिडिया नेटवर्क प्रमोटर रहेको डिजिटल होम इन्टरनेशनल (डिएचआई) ले आर्थिक वर्ष २०२३ मा ६४ करोड सञ्चालन आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०२२ मा ४२ करोड ४० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ५१ प्रतिशतले बढेर ६४ करोड पुगेको हो । कम्पनीमा भएको वृद्धिसँगै गत आवमा ऋणात्मक रहेको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा यो वर्षमा बढेर कुल सञ्चालन आम्दानीको १.६५ प्रतिशत पुगेको छ ।

सन् २०१८ मा स्थापना भएको कम्पनीले इन्टरनेट जडानका लागि आवश्यक पर्ने सेट–अप बक्सहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यसका साथै कम्पनीले ‘डिएचआई’ ब्रान्डनामबाट विभिन्न विद्युतीय सामाग्रीहरुको खरिद बिक्री गर्दै आएको छ ।

कम्पनी हाल ७० प्रकारका होम अपलाइन्सेसहरको एसेम्बलिङ गरिरहेको छ । देशका सातै प्रदेशहरुमा कम्पनीका ३१४ डिस्ट्रिब्युसन च्यानलहरु रहेका छन् जसले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई डाइरेक्ट टु होम वा इन्टरनेट प्रोटोकल टेलिभिजन सेवा जडान गर्दा आवश्यक पर्ने सेटअप बक्सको वितरण गरिरहेका छन् ।

कम्पनीमा कामना सेवा विकास बैंकका अध्यक्ष तथा डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य सहित अन्य चार जना मानिसहरुको लगानी रहेको छ ।

कम्पनीले ७० करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २२ करोड बराबरको दीर्घकालीन कर्जाका लागि बी र ४८ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ०.२४ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।