ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा विरेन्द्र कुमार संघई र सीईओमा श्रीधर खनाल चयन

0
Shares

ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा सञ्चालक विरेन्द्र कुमार संघई र प्रमुख कार्यकारी अधिकृत पदमा श्रीधर खनाल चयन भएका छन् ।

कम्पनीको २०८० साउन २१ गतेको सञ्चालक समितिको बैठकले कामनपा २४ काठमाडौ निवासी सञ्चालक विरेन्द्र कुमार संघई लाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको जनाएको हो । यस्तै कम्पनीको २०८० मङ्सिर १७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीका परियोजना प्रमुख श्रीधर खनाल (अर्घाखाँची) लाई कम्पनीको नियमावली बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव विष्णु प्रसाद न्यौपानेले जानकारी दिए ।

कम्पनीको पब्लिक लिमिटेड कम्पनीमा परिणत भइसकेपछिको आव २०७८–७९ को चौथो वार्षिक साधारण सभा कम्पनीले २०८० असार २९ गते सम्पन्न गरेको थियो । उक्त सभाबाट संस्थापक तर्फबाट ५ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएको र १ जना स्वतन्त्र सञ्चालक समेत नियुक्त भएका थिए ।

अध्यक्ष चयन र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तीजस्तो संवेदनशील सूचना कम्पनीले लामो समयसम्म सार्वजनिक जानकारीमा नल्याई ढिला मात्र सार्वजनिक गरेको हो ।

ग्रीन भेन्चर्स लिमिटेडमा ब्यापारिक घराना त्रिवेणी ग्रुपको मुख्य लगानी छ । ग्रीन भेन्चरले हाल नेपाल भरिका विभिन्न मध्यमदेखि ठूला आकारका जलविद्युत परियोजनाहरू विकास गर्दैछ । ग्रीन भेञ्चरमा त्रिवेणी ग्रुपसँग विशाल ग्रुपले लगानी साझेदारी गरेको छ । यी दुई घरानाबीच जलविद्युत् तथा सिमेन्ट दगायतमा साझेदारी छ ।

ग्रीन भेञ्चरले रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४० मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ कार्तिक २१ गतेदेखि व्यवसायीक रुपमा विद्युत उत्पादन गर्दै आइरहेको छ । कम्पनीको प्रतिसेयर लागत मूल्य २३ करोड रुपैयाँ छ । कुल १२ अर्ब ८ करोड लागत रहेको आयोजनाबाट साधारण लगानी फिर्ता अवधि ७.९१ वर्ष र डिस्काउन्टेड मा लगानी फिर्ता अवधि ११.५७ वर्ष लाग्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।