ऋणात्मक बजारमा पनि ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

0
Shares

साताको अन्तिम दिन सेयर बजार तीव्र उतार चढावकाबीच सामान्य अंकले घटेर बन्द भएको छ । बिहीबार सहित बजार सूचक लगातार चार कारोबार दिन घटेको हो । यसअघि लगातार ७ दिन बजार बढेको थियो ।  बजारमा अल्पकालीन लगानीकर्ता हाबी भएर घटेपनि बिहीबार ७ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बजार घटेपनि करिब केही कम्पनीका लगानीकर्ता भने यस दिनकाे बजारबाट मालामाल भएका हुन् ।

नेप्से परिसूचक बिहीबार १.९३ अंकले घटेर २०६८ दशमलव ९० बिन्दुमा कायम भएको छ । तर यसै दिनमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र तारागाउँ रिजेन्सी होटलका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यसैगरी सोनापुर मिनरल्स एण्ड आयल, नेपाल रिपब्लिक मिडिया र समाज लघुवित्तको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

उता यसैदिन धौलागिरी लघुवित्त र बिपिडब्लू लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर घटेको छ । यसैगरी उन्नति सहकार्य लघुवित्तको ७.२९ प्रतिशत, नेपाल इन्स्योेरेन्स कम्पनीको ६.१६ प्रतिशत, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ५.८२ प्रतिशत, गुराँस लघुवित्तको ५.७१ प्रतिशत, मोलुङ्ग हाइड्रोपावरको ५.६२ प्रतिशत, लक्ष्मी लघुवित्तको ५.६१ प्रतिशत, इमर्जिङ्ग नेपाल लिमिटेड ५.५८ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ५.२७ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्से ओरालो लागेसँगै कारोबार पनि घटेको छ । बिहीबार ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज ३०३ कम्पनीका १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर १ लाख १ हजार ५०४ वटा संख्यामा कारोबार भएको छ । बुधबार ५ अर्ब २४ करोड ८७ लाखको सेयर काराबार भएकोमा अघिल्लो दिनको तुलनामा ९५ करोड ७८ लाख रुपैयाँले घटेको छ । सोमबार र मंगलबार सार्वजनिक विदा थियो भने आइतबार ७ अर्ब ११ करोडको कारोबार भएको थियो । बजारमा आएको गिरावटले कारोबार समेत घट्दै गइरहेको छ ।

आज कारोबारमा आएको उपसमुहगत सूचक मिश्रित देखिएका छन् । ६ वटा बढेका छन् भने ७ वटा घटेको छ । उत्पादन तथा प्रशोधनमुलक सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटनमुलक १.१२ प्रतिशतले बढेको छ । लगानी, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समान्य बढेको छ । उता ब्यापार समुहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ । यस्तै विकास बैंक ०.७३ प्रतिशत, बैंकिङ्ग ०.५० प्रतिशत, जीवनबीमा ०.३६ प्रतिशत, फाइनान्स र जलविद्युत समान ०.२८ प्रतिशत र लघुवित्त ०.२२ प्रतिशतले घटेको छ ।

बिहीबारको बजारमा सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक १४ करोड ३८ लाख ३७ हजार बढीको कारोबार भएको छ । यस्तै शिवम सिमेन्टसको १३ करोड ५६ लाख, घोराही सिमेन्टसको १३ करोड ४३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख र नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड ६ लाख रुपैयाँ माथिको सेयर खरिद बिक्री भएको छ ।

कारोबार कित्ताका आधारमा हिमाल दोलखा हाइड्रोपावरको ४ लाख १३ हजार १५४ कित्ता सेयर कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयलको ८ हजार ८२० वटा कारोबार भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण घटेर ३२ खर्ब १३ अर्ब ८९ करोड ४० लाख ७१ हजार रुपैयाँमा समेटिएको छ । बिहीबार मात्रै बजार पुँजीकरण ३ अर्ब १० करोड २४ लाख रुपैयाँले घटेको हो । लगातार सात दिनमा १९३.२७ अंकले बढेर २१४१.८७ बिन्दुमा पुगेको सेयर बजार पछिल्लो चार दिनमा नेप्से ७२.९६ अंकले घटेर २०६८.९० बिन्दुमा झरेको हो । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।