वेनेफिसियरीको बैंक खातामा जम्मा हुनेगरी विदेशबाट पैसा ल्याउन सकिने, रेमिट्यान्सबाट दैनिक २० लाख

0
Shares

नेपाल राष्ट्र बैंकले विदेशबाट फिर्ता नहुने गरी सम्बन्धित व्यक्ति वा संस्थाको खातामै जम्मा गरेर रकम नेपाल ल्याउन सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक बापतको फिर्ता नहुने रकम हुनुपर्ने ब्यवस्था गरेको हो । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक रकम विदेशबाट विप्रेषणको माध्यमबाट भित्र्याउँदाका सीमा भने बढाएको छ । यस्तो रकम यसभन्दा अघि १५ लाख रहेकोमा केन्द्रीय बैंकले बढाएर २० लाख रुपैयाँ कायम गरेको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २० लाख रुपैयाँसम्म ल्याउन सकिने व्यवस्था गरेको छ । विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनुपर्नेछ । त्यस्तो कारोबार सम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र केन्द्रीय बैंकमा विवरण पेश गर्नुपर्नेछ ।

त्यसैगरी नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट प्राप्त हुने रकम सम्बन्धित वेनेफिसियरीको बैंक खातामा जम्मा गर्नेगरी ल्याउन सकिने छ । तर, समाज कल्याण ऐन, २०४९ बमोजिमका सामाजिक संघ संस्थाले भित्र्याउने रकमको हकमा भने प्रचलित कानुन बमोजिम समाज कल्याण परिषद्लाई गराइएको पूर्व जानकारी वा पूर्व स्वीकृति समेत आवश्यकपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

विल विजक भएको अवस्थामा नेपाली नागरिकलाई अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा सटही गरिने केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि यस्तो सटहीको सीमा एक हजार डलर वा सो बरावरको थियो । तर, भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम अमेरिकी डलर १ हजार ५०० को सीमाले बाधा पु¥याएको मानिने छैन ।

वैदेशिक रोजगारीका लागि जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानाडा जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० सटही सुविधा हुने केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी अन्य मुलुक जानेको हकमा अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा दिने व्यवसथा केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभएता पनि सुन बिक्री गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । तर, यसरी सुन खरिद गर्ने व्यवसायीले अन्य बैंक तथा वित्तीय संस्थामा भएको सम्बन्धित व्यवसायीको खाताबाट भुक्तानी गर्नुपर्नेछ ।

डीएपीको माध्यमबाट गरिने आयातको हकमा पटक–पटक गरी सोही निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजारको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य हुने छैन । पटक–पटक गरी सोही निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजार (भारतको हकमा भा.रु. तीन करोड) को सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य हुने छैन । तर, एक पटकमा अधिकतम अमेरिकी डलर पचास हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।