बन्दीपुर केबलकार आगामी अप्रिलबाट सञ्चालनमा आउने, आईपीओको लागि पायो ‘डबल बी’ रेटिङ

0
Shares

पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले निर्माण गरिरहेको केबलकार सहितको पाँच तारे होटल आगामी अप्रिल महिनाबाट सञ्चालनमा आउने भएको छ ।

सन् २०१३ मा स्थापना भएको बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सोही वर्षदेखि नै केवलकार सञ्चालनका लागि अध्ययन गर्ने, जग्गा अधिग्रहण गर्ने कार्य सुरु गरेको थियो । तथापि सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण सन् २०२१ सम्म निर्माण कार्य रोक्किदा कम्पनीको लागत खर्च र सञ्चालनमा आउने समय दुवै बढेको छ ।

प्रारम्भिक चरणमा केवलकार तथा होटलको निर्माण लागत १ अर्ब ६६ करोड ९० लाख रुपैयाँ तोकिएता पनि हाल उक्त लागत रकम बढेर ३ अर्ब १० करोड पुगेको छ । परियोजनाको लागतमा भएको वृद्धिका कारण कम्पनीले १ अर्ब २ करोड बराबरको कर्जाका लागि रेटिङ समीक्षा गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले १ अर्ब २ करोड बराबरको कर्जाका लागि डबल बी रेटिङ पुनपुष्टि गरेको छ ।

कम्पनीले दुई चरणमा केवलकार र होटलको निर्माण गरिरहेको छ । पहिलो चरणमा केवलकार र दोस्रो चरणमा केवलकारको समिट स्टेशनमा पाँच तारे होटल निर्माण गर्ने कम्पनीको लक्ष्य छ । हाल केवलकार र होटल निर्माण अन्तिम चरणमा पुगेको छ । सन् २०२४ को अप्रिल महिनादेखि केवलकार र जुलाई महिनादेखि होटल सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

पोखरा र काठमाडौँ बीचमा रहेको पर्यटकीय स्थल बन्दीपुरमा १८औँ शताब्दी देखि संरक्षण गरिएको कलात्मक घर तथा काष्ठकला, चित्रकलाका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ । साथै रामकोट गाउँ तथा सिद्ध गुफासम्म पदयात्रा गर्न इच्चुक व्यक्तिहरु पनि बन्दीपुरबाट नै आवतजावत गर्ने गर्छन् । जसकारण कम्पनीको आम्दानी दीर्घकालीन रुपमा बढ्ने देखिन्छ ।

कम्पनीमा ५ संस्थागत सेयरहोल्डर र केही व्यक्तिहरुको लगानी रहेको छ । कम्पनीका अध्यक्ष रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रमा एक दशक बढीको अनुभव बटुलेका रामचन्द्र शर्मा रहेका छन् ।

सन् २०२१ मा पब्लिक लिमिटेडमा परिणत भएपछि कम्पनीले आइपीओ जारी गर्ने तयारी गरिरहेको छ । सार्वजनिक निष्काशनको तयारीमा रहेको कम्पनीले साख मूल्यांकन गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई डबल बी रेटिङ गरेको छ ।

कम्पनीले १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता बराबरको साधारण सेयर निष्काशनको तयारीमा रहेको छ । कम्पनीले चुक्ता पुँजीको २ प्रतिशत अर्थात ४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर परियोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दालाई र १० प्रतिशत अर्थात २१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणहरुको लागि छुट्टाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।