अपर तामाकोशीले बिजुली बेचेर कमायो ५ अर्ब ३५ कराेड, कति छ नोक्सानी ?

0
Shares

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिजुली बिक्री मार्फत ५ अर्ब ३५ कराेड ६३ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी ४ अर्ब ९८ करोड रुपैयाँ रहेकोमा ३७ लाख रुपैयाँले बढेको हो ।

पुससम्ममा कम्पनी २५ करोड ७६ लाख ४० हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनी ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । चालु आवको पहिलो त्रैमाससम्म भने कम्पनी १ अर्ब ७२ लाख रुपैयाँ खुद नाफामा थियो । कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई २०७८ भाद्र २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ । 

चुक्ता पुँजी १९ अर्ब ४७ करोड ८० लाख ४७ हजार रुपैयाँ कम्पनीको रहेको कम्पनीको रिटेन्ड अर्निङ्गमा ७ अर्ब ५७ करोड ४० लाख ६५हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीले भुक्तानी गर्नुपर्ने दीर्घकालीन कर्जा ७२ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ भन्दाबढी छ । पुससम्ममा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १ रुपैयाँ ३२ पैसा नोक्सानीमा छ भने प्रति सेयर नेटवर्थ ६१ रुपैयाँ ११ पैसा छ । गत आवको यसै अवधाि ७ रुपैयाँ ७९ पैसा इपीएस ऋणात्मक रहँदा प्रति सेयर नेटवर्थ ६२ रुपैयाँ ३८ पैसा थियो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च घटेर ३ अर्ब ४२ करोड ७६ लाख ९३ हजार रुपैयाँ छ । कम्पनीले गत आवको यसै अवधिमा ३ अर्ब ६४ करोड ६४ लाख ६७ हजार रुपैयाँभन्दा वित्तीय खर्च गरेको थियो । यस्तै वित्तीय आम्दानी पनि घटेको छ । पुससम्म ६८ लाख ९४ हजार वित्तीय आम्दानी गरेको कम्पनीले गत आवको दोस्रो त्रैमासमा ३ करोड ४८ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरुको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरेको छ । पुस मसान्तसम्ममा नेपाल सरकारको चार तथा अन्य संस्थाहरुको आठ किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ऋण र स्वपूँजी अनुपातको सुधार गर्न, दोस्रो चरणको निर्माण अन्तर्गतको रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणको वित्त व्यवस्थापन र आयोजना निर्माणसम्बन्धी बाँकी रहेका भुक्तानीको लागि साविकका सेयरधनीहरुलाई १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले हासकट्टि खर्च तथा व्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यस अनुरुप विद्युत विक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले यस आर्थिक वर्षका साथै आउँदो केहि आर्थिक वर्षमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा संस्थागत सेयरधनीहरुबाट ५१ प्रतिशत सेयर निष्काशन वापतको ५ अर्ब ४० करोड ९ लाख र दोस्रो चरणको हकप्रद सेयर निष्काशन अन्तर्गत भदौ १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरिएको ४९% हकप्रद सेयर वापत ३ अर्ब ४८ करोड ७१ लाख ४७ हजार गरी कुल ८ अर्ब ८८ करोड ८० लाख ४७ हजार रुपैयाँको हकप्रद सेयर बाँडफाँड गरेको छ ।उक्त रकमबाट नेपाल विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रिसिट इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नविल बैंकबाट प्राप्त अल्पकालिन ऋण चुक्ता गरिएको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले १ः१अनुपातमा हकप्रद जारी गरेर अवितरित १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रदको लिलामीबाट २ अर्ब ६१ करोड ५७ लाख २६ हजार रुपैयाँ संकलन गरेको छ । लिलामी हकप्रद पुँजीकरणपछि हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।