विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च, जेठसम्म १९ खर्ब ६७ अर्ब पुग्यो

नोटबजार संवाददाता
काठमाण्डौं ।
२६ असार २०८१, बुधवार Jul 10, 2024 17:31:pm

चालू आर्थिक वर्ष २०८०/८१ को एघार महीना अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालू आवको जेठ मसान्तसम्म साढे एक वर्षको वस्तु तथा सेवा तथा १५.१ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

विसं २०८१ जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्दि भई १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । यसैगरी अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति सञ्चिति पनि २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ३ अर्ब १ करोड डलरले वृद्दि भई २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्दि भई १४ अर्ब ७२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्दि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्दि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विसं २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४.५ प्रतिशत, कुल आयातसँगको अनुपात १०५.२ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २९.२ प्रतिशत छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

जेठ मसान्तसम्ममा चालु खाता २ खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको छ । यस्तै २०८० असार मसान्तमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेकोमा २ खर्ब ७७ लाखले वृद्धि भई ४ खर्ब २५ अर्ब ६७ करोड रुपेयाँ बचतमा छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments