सोमबार ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


सोमबार ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, छिमेक लघुवित्त, सुपरमादी हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीहरुले मंगलबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लुम्बिनी विकास बैंकले पुस २६ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र करसहित ४.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, गरिमा विकास बैंकले पुस २९ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ९.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद सहित १० प्रतिशत गरी कुल १० प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

यता छिमेक लघुवित्तले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सुपर मादी हाइड्रोपावरले कम्पनीले पुस २८ गते, शनिबार, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै रुरु जलविद्युत परियोजना लिमिटेडले पुस २५ गते बुधबार साधारण सभा बोलाएको हो । कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।