क्रिष्टल फाइनान्सले जारी गर्यो सर्वसाधारण निक्षेपकर्ताहरुलाई भुक्तानी लिन आउने सूचना

0
Shares

क्रिष्टल फाइनान्स लिमिटेडले सर्वसाधारण निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी लिन आउने सूचना जारी गरेको छ ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी खारेजीमा गएको उक्त संस्थाले व्यक्तिगत निक्षेपकर्तामध्ये केही निक्षेपकर्ताहरुको निक्षेप रकम भुक्तानी लिन बाँकी भएको भन्दै संकलन गर्न आग्रह गरेको हो ।

सर्वसाधारण निक्षेपकर्ताहरुको निक्षेप रकम यस फाइनान्समा सुरक्षित भएकोले प्रमाण सहित स्वयं उपस्थित भई आफ्नो निक्षेप भुक्तानी लिन आउन फाइनान्सले सूचना जारी गरेको हो ।  व्यक्तिगत निक्षेपकर्ताहरुले चर्चिल कम्प्लेक्स, बागदरबार सुन्धारा काठमाडौंमा रहेको क्रिष्टल फाइनान्स लिमिटेडको कार्यालय मार्फत निक्षेप संकलन गर्न सक्नेछन् । फाइनान्सको फोन नम्बर तथा इमेल ठेगाना crystalfii [email protected] मार्फत पनि आफ्नो निक्षेपको हकवादी गर्न सक्नेछन् ।

साथै संस्थाले फाइनान्स खारेजीमा गएपश्चात् राष्ट्र बैंकको निर्देशन अनुसार निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने क्रममा फाइनान्समा संस्थागत रुपमा निक्षेप जम्मा गरेकाहरुलाई समेत असुलीका आधारमा समानुपातिक रुपमा निक्षेप भुक्तानी गर्दै आईरहेको समेत जनाएको छ ।
क्रिष्टल फाइनान्स लिमिटेड हाल खारेजीमा गइसकेको छ । उच्च अदालत, पाटनको आदेशानुसार कम्पनीलाई लिक्वीडेसनमा लगेर संस्थाको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

यो फाइनान्सले राष्ट्र बैंकबाट २०५८ साल फागुन ८ मा इजाजत पाएको थियो । २०६७ चैतसम्मको वित्तिय विवरणमा फाइनान्सको पुँजीकोष ३०.४० प्रतिशत ऋणात्मक थियो । केन्द्रीय बैंकले विशेष निरीक्षण गरेर फाइनान्सलाई समस्याग्रस्त फाइनान्स घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंकले विसं २०६९ साल असोज ७ गते समस्याग्रस्त घोषणा भई शिघ्र सुधारात्मक कारबाही अघि बढाएको फाइनान्स नसुध्रिएपछि यसलाई खारेज गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडाले समस्याग्रस्त क्रिष्टललाई खारेजीमा लैजाने निर्णय गरेका थिए ।

साथै २०७१ कात्तिक १० मा फाइनान्सलाई खारेज गर्न २०७१ मंसिर २२ मा अदालतमा मुद्दा दायर गरेको गरेको थियो । २०७७ माघ १२ मा क्रिष्टल फाइनान्स लिक्वीडेटरको कार्यालय स्थापना गर्न पाटन उच्च अदालतले आदेश दियो । यसका लागि चार्टर्ड एकाउन्टेन्ट दिमानसिंह चन्दलाई नियुक्त गरिएको थियो । समस्याग्रस्त घोषणा गर्दा संस्थामा ४९ करोड १३ लाख निक्षेप थियो भने कर्जा ८६ करोड ६८ लाख रुपैयाँ थियो ।

खारेजीको अवस्थामा संस्थाको सम्पत्ति २० करोड ९४ लाख र निष्कृय कर्जा ९८.८८ प्रतिशत थियो । संस्थाले असुल हुन बाँकी कर्जा ६१ करोड ७६ लाख थियो । फाइनान्सले सर्वसाधारण निक्षेपकर्तालाई १ करोड ३२ लाख रुपैयाँ र संस्थागत निक्षेपकर्तालाई ३९ करोड ७३ लाख र अन्तर बैंक सापटी ६ करोड ८६ लाख गरी ४७ करोड ९१ लाख भुक्तानी दिन बाँकी रहेको संस्थाको दायित्व उल्लेख गरेको थियो ।

सञ्चालकको पारिवारिक संलग्नताका कारण यसरी खारेजीमा गएको थियो फाइनान्स

अनुसन्धानमा क्रिष्टल फाइनान्स लिमिटेड डुब्नुमा तत्कालीन अध्यक्ष तथा व्यवस्थापन नेतृत्व मिलेर ठूलो रकम घोटाला गरिएको भेटिएको थियो । फाइनान्सका प्रवद्र्धक दिव्यकुमार श्रेष्ठले मात्रै फाइनान्सबाट अनियमित तवरले करिब ४४ करोड ६० लाख कर्जा लिई चुक्ता नगरी नगराई निक्षेपकर्ता, साहु, लगानीकर्ता, संस्था तथा वित्तीय प्रणालीलाई जोखिममा पार्ने कार्यमा संलग्न भएको भेटाएको थियो । उनी श्रीमति तथा फाइनान्सका संस्थापक अन्जुदेवी श्रेष्ठ, छोरी अल्पना श्रेष्ठ तथा संस्थापक परिवारका सदस्य तथा अप्रत्यक्ष रुपमा ऋण उपयोग गरेका थिए ।

फाइनान्सका प्रवद्र्धक दिव्यकुमार श्रेष्ठको संलग्नता नारायणी डेभलपमेन्ट बैंकमा समेत थियो । नारायणीमा पनि आर्थिक हिनामिना व्यापाक भएर संस्था अप्ठेरोमा परेपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकले क्रिष्टल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको दुई सातामै (२०६९ साल असोज २० गते) साढे ४४ करोड अनियमिता गरी क्रिष्टल फाइनान्स डुबाएको आरोपमा दिव्यकुमार श्रेष्ठलाई पक्राउ र्गयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रेष्ठलाई सरस्वती क्याम्पस नजिकैबाट पक्राउ गरेको थियो ।

२०६८ साल पुस २६ मा राष्ट्र बैंकले गरेको विशेष निरीक्षणमा मार्भलस रेमिट प्रालिलाई बिना धितो निब्र्याजी ऋण दिएको पत्ता लगाएको थियो । त्यति मात्र होइन फाइनान्सले अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप विवरण पेश गर्दा भुक्तान नभएका चेकसमेत समावेश गरी लेखाङ्कन गरेको भेटिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।