निक्षेप संकलन र अन्तर बैंकदर ब्याजदर करिडोरको तल्लो सीमामा

0
Shares

नेपाल राष्ट्र बैंकको अन्तर बैंक दर बढाउने प्रयास सफल भएको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता निक्षेप संकलन उपकरण मार्फत निरन्तर खिचेपछि अन्तर बैंक दर ३ प्रतिशत भन्दा माथि पुगेको हो ।

केन्द्रीय बैंकले बुधबार १४ दिन अवधिको २५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेपछि अन्तर बैंकदर र निक्षेप संकलनको ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमामा पुगेको हो । अन्तर बैंकदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएपछि निक्षेप संकलन मार्फत वित्तीय प्रणालीको तरलता खिच्ने र अन्तर बैंकदर बढाउने गर्छ ।

तर, पछिल्लो समयमा वित्तीय प्रणालीमा कर्जा प्रबाह हुन नसक्ने र निक्षेप थपिने क्रम बढेपछि अधिक तरलता देखिएको थियो । वित्तीय प्रणालीको अधिक तरलताले अन्तर बैंक दर एक प्रतिशत भन्दा तल झरको अवस्था थियो । त्यतिमा नभई तरलता खिच्नका लागि प्रयोग गरीएको निक्षेप संकलनको ब्याजदर समेत करिडोरको तल्लो सीमामा पु्रयाउन केन्द्रीय बैंकलाई हम्मे हम्मे परेको थियो । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमालाई निक्षेप संकलनको दर ३ प्रतिशत कायम गरेको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन दर ३ प्रतिशत हुने भनेपनि अधिक तरलताका कारण बैंकहरु विच उच्च प्रतिस्पर्धा हुदाँ निक्षेप संकलनको ब्याजदर घट्न थालेको थियो । मंसिरको सुरुवात देखि केन्द्रीय बैंकले ३ खर्ब ५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन जारी गरेको छ । सो मध्ये ९२ अर्ब ६५ करोड अझै पनि केन्द्रीय बैंकसंग छ ।

बुधबार केन्द्रीय बैंकले निष्काशन गरेको २५ अर्ब बरावरको निक्षेप संकलनमा बैंक वित्तीय संस्थाले १९ अर्ब ९० करोडको मात्रै माग आवेदन गरेका छन् । केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन गरेपछि बैंक तथा वित्तीय संस्थासंग तरलता कमी भएसंगै बुधबार निष्काशन भएको रकम बरावरको पनि आवेदन नआएको हो ।

बैंक वित्तीय संस्थासंग तरलता घटेसंगै निक्षेप संकलनमा लगानी गर्ने क्रममा पनि कमि आयो । वित्तीय प्रणालीको तरलता केन्द्रीय बैंकमा थुप्रिएसंगै निक्षेप संकलनको औसत ब्याजदर पनि ३ प्रतिशत पुगेको छ । अधिकत तरलतामा कमी आएसंगै निक्षेप संकलन दर मात्र नभई अन्तर बैंक दर पनि बढेको छ । बुधबार अन्तर बैंक दर ३.०३ प्रतिशतमा पुगेको छ । सोमबार अन्तर बैंक दर २.८० प्रतिशत थियो।

बुधबार निष्कासन भएको २५ अर्ब निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज माग गरेपछि केन्द्रीय बैंकले १४ अर्ब ७० करोड मात्र निक्षेप लिएको छ । त्यसमा पनि बैंक वित्तीय संस्थाले माग गरेको ब्याजदर अधिकतम ३.११०० र न्यूनतम २.५९९९ प्रतिशत रहेको छ । यसको औसत ब्याजदर ३ प्रतिशत हुन आएको केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप संकलनका लागि ११ बैंक वित्तीय संस्थाले ४७ आवेदन मार्फत निक्षेप दिने प्रस्ताव गरेका थिए। बुधबारको निक्षेप संकलन पछि वित्तीय प्रणालीको तरलता र अल्पकालिन ब्याजदर स्थिर हुने संकेत देखिएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।