नेप्सेमा सूचीकृतमध्ये ९ दर्जन बढी कम्पनी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न असफल

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा सूचीकृत कम्पनीहरुमध्ये ९ दर्जनभन्दा बढी कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न असफल हुने भएका छन् । सूचीकृत रहेका २४८ कम्पनीमध्ये १०९ ओटाले चालु आर्थिक वर्षको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न नसकेका हुन् । यो सङ्ख्या नेप्सेमा कुल सूचीकृत कम्पनीको ४४ प्रतिशत बराबरको हो ।

यसरी समयमा नै साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुमा करिब ३ दर्जन जलविद्युत कम्पनी छन् । यस्तै साढे २ दर्जन लघुवित्त कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सकेका छैनन् । तथ्याङ्क अनुसार कुल १०९ ओटा कम्पनीले तोकिएको अवधिमा साधारण सभा गर्न नसकेका हुन् । समयमा साधारण सभा गर्न नसक्ने कम्पनीहरुमा १९ वाणिज्य बैंकमध्ये ४ ओटा, १६ विकास बैंकमध्ये ६ ओटा, १५ फाइनान्समध्ये ८ ओटा, ५५ लघुवित्तमध्ये २९ ओटा, ९१ जलविद्युत कम्पनीमध्ये ३४ ओटा, १२ निर्जीवन बीमा कम्पनीमध्ये ११ ओटा, १२ जीवन बीमा कम्पनीमध्ये १० ओटा, ६ होटलमध्ये एउटा, ८ उत्पादन तथा प्रशोधनमुलकमध्ये १ ओटा, ब्यापारका २ ओटै कम्पनी, ७ लगानी उपसमुहमा सूचीकृतमध्ये २ ओटा, अन्यमा सूचीकृत ५ मध्ये १ ओटा कम्पनी रहेको छ ।

नेप्सेमा हाल करिब २१ दर्जन अर्थात २४८ ओटा कम्पनी सूचीकृत रहेका छन् । यस बाहेक सामुहिक लगानी कोषको ३३ बन्दमुखी प्रकृतिको फन्डका इकाई र वाणिज्य बैंकको ६२ ओटा, विकास बैंकको ७ ओटा र फाइनान्स कम्पनीको ३ ओटा गरी कुल ७२ वटा डिबेञ्चर समेत सूचीकृत छन् । म्युचुअल फन्ड र डिबेञ्चरले वार्षिक साधारण सभा गर्नुपर्दैन । यी बाहेक कतिपय कम्पनीकोनेप्सेमा सूचीकृत रहेपनि नियमित सम्पर्कमा नरहेका र डिलिस्ट समेत नभइसकेका छन् ।

यद्पी आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अर्थात पुसभित्र मसान्तसम्ममा १५ वाणिज्य बैंक, १० विकास बैंक, ७ फाइनान्स कम्पनी, २६ लघुवित्त, ५७ जलविद्युत कम्पनी, ७ उत्पादन तथा प्रशोधनमुलक कम्पनी, १ निर्जीवन बीमा कम्पनी, २ जीवन बीमा कम्पनी, ५ लगानी, ५ होटल, ४ अन्यमा सूचीकृत गरी कुल १३९ कम्पनीले भने नियम अनुसार पुसभित्रै साधारण सभा सम्पन्न गर्ने भएका छन् ।

पब्लिक कम्पनीमा सूचीकृत कम्पनीहरुले हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । यस समयमा साधारण सभा सम्पनन नगर्ने कम्पनीहरुलाई कम्पनी रजिष्ट्रारको कार्यालयले जरीवाना समेत तिराउने गर्दछ । तर साधारण सभाबाट निर्वाचित भई कम्पनी सञ्चालनको जिम्मेवारी लिएर सञ्चालक बनेकाहरुले तोकिएको समयभित्र साधारण सभा सम्पन्न गर्नेगरी काम गर्नुभन्दा आफू चाँही सञ्चालकले पाउने भत्ता पचाउने तर कम्पनीलाई जरीवाना तिर्न तयार बनाउने गरेका छन् । समयमा काम गर्न नसक्ने सञ्चालकहरुलाई कारवार्हीको व्यवस्था नहुँदा सूचीकृत झण्डै आधा कम्पनीहरु तोकिएको समयमा एजीएम सम्पन्न गर्न असफल बन्ने गरेका छन् ।

अर्कोतर्फ बजार सञ्चालनको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हरेक त्रैमासमा गर्ने कम्पनी वर्गिकरणको सूची प्रकाशन गर्ने गरेको छ । यसरी दोस्रो त्रैमास अर्थात पुस मसान्तभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीलाई नेप्सेले गर्ने वर्गिकरणको सूचीमा ‘ए’ वर्गमा राख्दैन । अर्थात तोकिएको समयभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनी खराब वर्ग अर्थात ‘ए’ भन्दा कमजोर मानिने ‘बि’ ‘जी’ ‘जेड’ वर्गतिर समेटिने गर्दछन् । यद्यपी अझैपनि कम्पनीहरु सेयरधनी र आफ्नो साख वृद्धि गर्न पुसभित्रै साधारण सभा सम्पन्न गर्नबाट चुक्दै आएका छन् ।

अन्तर्राष्ट्रिय अभ्यासमा कतिपय कम्पनीहरुले साधारण सभाको मिति नै तोकेर हरेक वर्ष एकैदिन साधारण सभा सम्पन्न गर्ने गरेको समेत भेटिन्छ । नेपालमा भने यस्तो अभ्यास हालसम्म एउटा पनि कम्पनीमा देख्न पाइएको छैन । कतिपय जलविद्युत कम्पनीले बाढी र प्राकृति विपत्तिलाई कारण देखाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयमा पुसभित्र साधारण सभा सम्पन्न गर्न नसकेको जानकारी दिँदै थप समय माग गरेका छन् । यस्तै कतिपय कम्पनीले बाह्य लेखापरीक्षण कार्यमा भएको ढिलाइले लाभांश घोषणामा ढिलाइ हुँदा साधारण सभा सम्पन्न गर्न नसकिएको जनाएका छन् ।

उता बीमा क्षेत्रमा नयाँ लेखामान प्रणाली अनुरुप एनएफआरएस वित्तीय विवरण तयार गर्नुपर्ने, नेपाल बीमा प्राधिरकणको फ्यूचर बोनस प्रोभिजनिङ्ग र एक्चुअरी भ्यालुएसनको कठिनाइका कारण पनि जीवन बीमा कम्पनीहरुको साधारण सभा आर्थिक वर्ष समाप्त भएको एक वर्षभन्दा ढिलो र निर्जीवन बीमाले पनि आव सकिएको ६ महिनाभित्र सम्पन्न गर्न कठिनाई हुँदै आएको बीमकहरु बताउँछन् ।

चार वाणिज्य बैंकले समयमा साधारण सभा गर्न सकेनन्

नेप्सेमा सूचीकृतमध्ये १९ मध्ये १५ बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गर्नेरी सभा बोलाउँदा ४ बैंक भने पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न अफल भएका छन् ।

पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने बैंकहरुमा कृषि विकास बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंक रहेका छन् । एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, नबिल, नेपाल एसबिआई, लक्ष्मी सनराइन, ग्लोबल आईएमई, सिटिजन, सिद्धार्थ, एनएमबि, प्राइम कमर्सियल, हिमालयन र नेपाल बैंकले पुसभित्र सभा सकाउने भएका छन् ।

गत आवको नाफाबाट पाँच वाणिज्य बैंकले लाभांश नदिने घोषणा गर्दा १२ वाणिज्य बैंकले भने सेयरधनीलाई लाभांश वितरण गरेका छन् । एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन र नेपाल बैंकले लाभांश वितरण गरेनन् । तीन बैंकहरु कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकले अझै लाभांश वितरण गर्ने नगर्ने निर्णय गर्न बाँकी छ ।

गत आर्थिक वर्ष २०७९–८० बाट एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ३०.५२ प्रतिशत लाभांश दिएको छ भने सिद्धार्थ बैंकले सबैभन्दा कम ४.२१ प्रतिशत लाभांश वितरण गरेको छ । नेप्सेमा सूचीकृत नरहेको राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश प्रस्ताव सहित पुस २९ गते सभा डाकेको छ ।

पुसभित्र सभा नबोलाउने विकास बैंकको सङ्ख्या ६ ओटा

नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ६ ओटाले पुसभित्र साधारण सभा सकाउन सकेनन् । हालसम्म १० विकास बैंकले साधारण सभा बोलाइसकेकोमा ४ ओटाले सम्पन्न गरिसकेका छन् । ६ ओटाले पुस मसान्तभित्रै सक्नेगरी सभा डाकेका छन् ।  ६ विकास बैंकहरु सिन्धु विकास बैंक, नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव र साधारण सभा आह्वान गर्न बाँकी छ ।

हालसम्म शाइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले सभा सकेका छन् । पुसभित्र साधारण सभा सम्पन्न गर्नेगरी मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले सभा डाकेका छन् ।

गत आर्थिक वर्ष २०७९–८० बाट कामना सेवा विकास बैंक, ज्योति विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले सेयरधनीको हात खाली पारेका छन् । सबैभन्दा धेरै ११.०५ प्रतिशत लाभांश दिएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ ।

आठ फाइनान्स पुसभित्रै साधारण सभा सम्पन्न गर्न असफल

सूचीकृत १५ वित्त (फाइनान्स) कम्पनीमध्ये ६ ओटाले गत आव २०७९।८० को साधारण सभा पुसभित्रै सम्पन्न गर्ने भएका छन् । पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने फाइनान्सहरुमा गुडविल फाइनान्स, प्रोगेशिभ फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, मल्टिपर्पस फाइनान्स, बेष्ट फाइनान्स, गोर्खाज फाइनान्स रहेका छन् ।

हालसम्म कुनैपनि फाइनान्सले सभा सकाएका छैनन् । नेपाल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, आईसिएफसि, मञ्जुश्री, गुहेश्वरी, समृद्धि र पोखरा फाइनान्सले भने पुस मसान्तभित्रै सभा सकाउने भएका छन् । गत आर्थिक वर्ष २०७९–८० बाट आईसिएफसि, मञ्जुश्री र इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले मात्र सेयरधनीलाई लाभांश दिएका छन् । नेपाल फाइनान्स, गुडविल फाइनान्स, प्रोगेशिभ फाइनान्स, गुहेश्वरी, समृद्धि र पोखरा फाइनान्सले भने लाभांश दिएनन् ।

सूचीकृत २९ लघुवित्तले मात्रै पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने

नेप्सेमा सूचीकृत ५५ लघुवित्तमध्ये २६ लघुवित्त कम्पनीहरुले मात्र गत आवको साधारण सभा पुस मसान्तभित्र सम्पन्न गर्ने भएका छन् । २९ लघुवित्तले भने यस अवधिमा साधारण सभा सम्पन्न गर्न नसक्ने भएका छन् ।

पुस भित्र साधारण सभा सम्पन्न गर्ने २६ लघुवित्तहरुमा छिमेक लघुवित्त, जीवन विकास, आरएसडिसी लघुवित्त, एनआईसी एशिया लघुवित्त, साना किसान विकास लघुवित्त, नेष्डो समृद्ध, फस्ट माइक्रोफाइनान्स, आरम्भ चौतारी, सपोर्ट माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त, ग्लोबल आईएमई, युनिक नेपाल, ग्रामीण विकास, हिमालयन, गुराँस, उपकार, सामुदायिक लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, गणपति, लक्ष्मी, नाडेप, सिवाईसी नेपाल लघुवित्त, इन्फिनिटी, मिथिला, विपीडब्लू लघुवित्त र उन्नति सहकार्य लघुवित्तले पुस मसान्तभित्रै सभा सकाउने गरी सभा डाकेका छन् । हालसम्म नेष्डो समृद्ध, एनआईसी एशिया, आरएसडिसी लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्रामीण विकास, र गुराँस लघुवित्त गरी ६ ओटाले बुधबारसम्म साधारण सभा सकाएका छन् । बाँकी २० ओटाले अबको ११ दिनभित्रै सकाउने भएका छन् ।

चालु आवको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुमा २९ ओटा रहेका छन् । जसमध्ये सूर्योदय वोमी, धौलागिरी, मिर्मिरे लघुवित्त, समता घरेलु, मनकामना स्मार्ट, साधना लघुवित्त, सबैको लघुवित्त, मेरो माइक्रोफाइनान्स, नेरुडे लघुवित्त गरी ९ ओटाले लाभांश वितरण गर्ने नगर्ने निर्णय गरेपनि साधारण सभा आह्वान गरेका छैनन् ।

थप २० ओटा कम्पनीको लाभांश प्रस्ताव र साधारण सभा दुबै निर्णय हुन बाँकी छ । ती लघुवित्तहरुमा जाल्पा लघुवित्त, महिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, स्वाभिमान, निर्धन उत्थान, आशा लघुवित्त, जनउत्थान, महुली सामुदायिक, स्वरोजगार लघुवित्त, किसान, एनएमबि, विजय, डिप्रोक्स, आरम्भ चौतारी, कालिका, मानुषी, समाज, वीन नेपाल, अभियान र श्रृजनशील लघुवित्त रहेका छन् । यसरी २९ ओटा कम्पनी पुसभित्र साधारणसभा गर्न असफल भएका हुन् ।

गत आर्थिक वर्ष २०७९–८० बाट २० ओटा लघुवित्तले सेयरधनीको हात खाली पारेका छन् भने १५ ओटाले मात्र लाभांश दिएका छन् । सूर्योदय वोमीले सबैभन्दा धेरै २० प्रतिशत लाभांश दिएको छ भने समता घरेलु लघुवित्तले सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ ।

चौतिस जलविद्युत कम्पनी पुसभित्र साधारण सभा सम्पन्न गर्न असमर्थ

नेप्सेमा सूचीकृत ९१ मध्ये ३४ जलविद्युत कम्पनीले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सकेनन् । ५७ कम्पनीले भने पुसभित्र गत आवको साधारण सभा सम्पन्न गर्ने गरी सभा डोकका छन् । पुसमा नभ्याएका चार कम्पनीले माघको पहिलो साताभित्र सक्नेगरी सभा डाकेका हुन् । ३० कम्पनीको लाभांश घोषणा तथा सभा आह्वान दुबै बाँकी छ ।

पुसभित्रै साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुमा माउन्टेन इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर, पाँचथर पावर, अपर हेवाखोला, हिमालयन उर्जा विकास, मैलुङ्ग खोला जलविद्युत, दिब्यश्वरी हाइड्रोपावर, शुभम पावर, ग्रीन लाइफ, रसुवागढी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, साहस उर्जा, रिभर फल्स पावर, पिपुल्स हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड, मोलुङ्ग हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, माइखोला हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी र चिरख्वा हाइड्रोपावर रहेका छन् । यस्तै पुसमा नसकाउने अन्य कम्पनीहरुमा ग्रीन भेञ्चर, दोल्ती पावर, बलेफी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् । यी चार कम्पनीले माघको सुरुवातमा सभा डाकिसकेका छन् ।

नौं ओटा कम्पनीले हालसम्म सभा सम्पन्न गरिसकेका छन् भने थप ४८ कम्पनीले पुसभित्रै सकाउने गरी एजीएम आह्वान गरेका छन् । यसैगरी सानिमा माई, माण्डू हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, नेशनल हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर, अपर स्याङ्गे र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सभा सकाइसकेका हुन् । त्यस्तै पुसभित्र सभा डाक्ने अन्य ४८ कम्पनीहरुमा चिलिमे जलविद्युत, भगवती हाइड्रोपावर, कालिका पावर, रुरु जलविद्युत, युनिर्भसल पावर, सिक्लेस हाइड्रोपावर, बिन्धबासिनी हाइड्रोपावर, बुटवल पावर, मन्दाकिनी हाइड्रोपावर, राद्यि विद्युत, सुपर मादी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, अपर सोलु हाइड्रोइलेक्ट्रिक, साञ्जेन जलविद्युत, आँखुखोला जलविद्युत, मकर जितुमाया सुरी हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, मध्य भोटेकोशी, बुद्धभुमी नेपाल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन पावर पार्टनर, पञ्चकन्या माई, हिमालयन हाइड्रोपावर र त्रिशुली जलविद्युत कम्पनीले पनि पुस मसान्तभित्रै साधारण सभा सकाउने भएका छन् ।

यसैगरी पुस मसान्तभित्रै साधारण सभा सकाउने गरी इङ्वा हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, सानिमा मिडल तमोर, सगरमाथा जलविद्युत, अरुण काबेली, सामलिङ्ग पावर, अपि पावर, एशियन हाइड्रोपावर, अरुण भ्याली, न्यादी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, मोदी इनर्जी, रिडी पावर, बाराही हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, माथिल्लो मैलुङ्गखोला, युनियन हाइड्रोपावर, दोर्दीखोला हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, लिवर्टी इनर्जी र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् ।

गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेका ६१ ओटामध्ये १४ कम्पनीले सेयरधनीलाई लाभांश दिएका छन् भने ४७ ओटाले रित्तो हात बनाएका छन् । गत आर्थिक वर्ष २०७९–८० बाट चिलिमे जलविद्युत कम्पनीले सबैभन्दा धेरै १० प्रतिशत बोनस सहित कुल १५ प्रतिशत लाभांश दिएको छ भने सुपर मादीले सबैभन्दा कम कर बाहेक २ प्रतिशत नगद लाभांश दिएको छ ।

नेप्सेमा सूचीकृत १० निर्जीवन बीमा कम्पनीले पुसभित्र सकेनन् साधारण सभा

गत आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारण सभा १० निर्जीवन बीमा कम्पनीले पुसभित्र सम्पन्न गर्न सकेका छैनन् । बीमा समितिले लाागू गरेको नेपाल वित्तीयमान प्रणाली अनुरुपको प्रतिवेदन (एनएफआरएस) समयमा नै तयार गर्न चुक्दा सबैजसो कम्पनीहरु समयमा नै साधारण सभा सम्पन्न गर्न असमर्थ बनेका हुन् । नेपाल इन्स्योरेन्सले मात्र पुस १३ गते साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुमा शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, प्रभु इन्स्योरेन्स, आईपीआई प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी पुसभित्र साधारण सभा सम्पन्न गर्न असफल भएका हुन् ।

नेको इन्स्योरेन्सले लाभांश नदिने निर्णय गरेपनि सभा आह्वान गरेको छछैन भने बाँकी ९ कम्पनीको लाभांश घोषणा र सभा आह्वान दुबै नभएको हो । नेपाल इन्स्योरेन्सले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने यी हुन् १० जीवन बीमा कम्पनी

नेप्सेमा सूचीकृत १२ ओटा जीवन बीमा कम्पनीमध्ये २ कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८।७९ को साधारण सभा गर्नेभएका छन् । सबै कम्पनी गत आवको साधारण सभा सम्पन्न गर्न असफल भएका छन् । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनका कारण सूचीकृत अन्य कम्पनीको तुलनामा एक वर्ष साधारण सभामा ढिलाई हुने गरेको छ । देशभित्र प्रयाप्त एक्चुरी भ्यालुयसन गर्ने जनशक्ति नहुँदा कम्पनीहरुको साधारण सभामा ढिलाइ हुने गरेको छ ।

पुसभित्र अघिल्लो आवको साधारण सभा सम्पन्न गर्ने कम्पनीहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड –एलआईसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । कुनैपनि लाभांश नदिएको एलआईसी नेपालले मङ्सिर १८ गते नै सभा सकाएको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुस २९ गते सभा डाकेको छ । यस कम्पनीले पनि अघिल्लो आव २०७८–७९ बाट लाभांश दिएन भने बीमा प्राधिकरणले तोकको चुक्ता पुँजी कायम गर्न १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको छ ।

नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ, हिमालयन लाइफ इन्स्योरेन्स, , सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल नेपाल लाइफ इन्स्योरेन्सले पुसभित्र साधारण सभा सम्पन्न गर्न नसकेका हुन् ।

गत आर्थिक वर्ष २०७९–८० बाट एलआईसी नेपाल, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी गरी तीन कम्पनीले सेयरधनीको हात खाली पारेका छन् भने सिटिजन लाइफले ५ प्रतिशत बोनस र कर प्रयाजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिएको छ ।

चन्दागिरि हिल्स बाहेक पाँच होटलले साधारण सभा सम्पन्न गर्ने

नेप्सेमा सूचीकृत ६ ओटा होटल कम्पनीमध्ये ओरियन्टलले असोज २५ गते नै साधारण सभा सम्पन्न गरेको छ । सोल्टी, तारागाउँ रिजेन्सी, कालिञ्चोक दर्शन, र सिटि होटलले पनि पुस मसान्तभित्रै साधारण सभा सकाउने गरी सभा आह्वान गरेका छन् ।  घाटाबाट वित्तीय अवस्था सुधारेको चन्द्रागिरी हिल्सले भने साधारण सभा आह्वान गरेको छैन । कम्पनीको यस वर्ष लाभांश बाँड्नसक्ने अवस्थामा नरहेकाले सेयरधनीले लाभांश नपाउने स्पष्ट नै छ ।

कालिञ्चोक दर्शन, र सिटि होटलल लाभांश नदिई गत आवको साधारण सभा मात्र सम्पनन गर्ने भएका हुन् ।

गत आर्थिक वर्ष २०७९–८० बाट ओरियन्टल होटलले ५.२६ प्रतिशत नगद, तारागाउँ रिजेन्सीले ४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी १५ प्रतिशत र सोल्टी होटलले ५ प्रतिशत बोनस र २६.५८ प्रतिशत नगद गरी ३१.५८ प्रतिशत लाभांश दिएका छन् । विश्व माहामारी कोरोना भाइरस संक्रमणका कारण पर्यटकको चहलपहल बढेपछि व्यवसायमा सुधार हुँदा धेरै होटलको आम्दानीमा सुधार आएपछि लाभांश वितरण गरेका हुन् ।

उत्पादनमुलक समुहमा सूचीकृत सोनापुर मिनरल्स बाहेक सबैले साधारण सभा सकाउँदै

नेप्सेमा उत्पादनमुलक समुहका सूचीकृत रहेका ८ कम्पनीमध्ये सोनापुर मिनरल्स एण्ड आयल बाहेक बाँकी ७ ओटै कम्पनीले पुस समान्तभित्र साधारण सभा सम्पन्न गर्ने भएका छन् ।

युनिलिभर नेपालले मङ्सिर २६ गते नै साधारण सभा सम्पन्न गरिसकेको छ । हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल ल्यूव आयल, घोराही सिमेन्टस्, बोटलर्स नेपाल (तराइ) र बोटलर्स नेपाल (बालाजु) ले पुसभित्रै साधारण सभा सम्पन्न गर्ने भएका छन् । गत आर्थिक वर्ष २०७९–८० बाट युनिलिभरले १५८० प्रतिशत, बोटलर्स नेपाल (तराइ) ले ६०, नेपाल ल्यूव आयलले ३०, हिमालयन डिष्टिलरीले २५, शिवम् सिमेन्ट र घोराही सिमेन्टले समान १५–१५ प्रतिशत लाभांश दिएका छन् । बोटलर्स नेपाल (बालाजु) ले सेयरधनीको हात खाली पारेको छ ।

उत्पादनमुलक कम्पनीमा सूचीकृत रहेर पनि धेरै कम्पनीहरु सेयर बजारबाट बेपत्ता छन् । गोरखाकाली रबर उद्योग, नेपाल खाद्य उद्योग, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, नेपाल बनस्पति ध्यु उद्योग, बुटवल स्पिनिङ्ग मिल, फ्यूर हिमालयन, हिरिसिद्धी इँटा टायल, ज्योति स्पिनिङ्ग मिल, रघुपति जुट मिल, श्री भृकुटी पल्स एण्ड पेपर, अरुण बनस्पति उद्योग र विराट शु उद्योग सेयर बजारबाट लगानीकर्ताको लगानी डुवाएर बेपत्ता भएका हुन् । यी कम्पनीहरुको साधारण सभा सम्पन्न गर्ने त परै जाओस् यर्थाथ अवस्था कस्तो छ भन्ने समेत फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई जानकारी छैन ।यस्तै आर्थिक संकटले श्रीराम सुगर मिल पनि बन्द भई नेप्सेबाट डिलिस्टेड भैसकेको छ ।

ब्यापारका दुईओटै कम्पनीले गरेनन् साधारण सभा

नेप्सेको ब्यापारमा सूचीकृत दुई मध्ये कुनैपनि कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को साधारण सभा सम्पन्न गर्न सकेका छैनन् । नेशनल ट्रेडिङ र बिशाल बजार कम्पनी दुबैले सभा सम्पन्न गर्न असमर्थ भएका हुन् । यी दुबै कम्पनीले लाभा.श दिने वा नदिने समेत घोषणा गरेका छैनन् । यहि समुहमा सूचीकृत नेपाल ट्रेडिङ लिमिटेड र नेपाल वेलफेयर कम्पनी लिमिटेड बेपत्ता भई नेप्सेले सूचीकण खारेज गरेको छ । यी दुई कम्पनीले वर्षैदेखि साधारण सभा सम्पन्न गरेका छैनन् ।

लगानीमा सूचीकृत पाँच कम्पनीले एजीएम बोलाए, दुईले डाकेनन्

लगानीमा सूचीकृतमध्ये ७ मध्ये पाँच कम्पनीले पुसभित्र साधारण सभा सम्पन्न गर्नेगरी साधारण सभा बोलाएका छन् । नागरिक लगानी कोष र सिइडिबि हाइड्रोपावर कम्पनीले भने लाभांश प्रस्ताव र साधारण सभा दुबै गर्न असफल रहे ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सभा सम्पन्न गरिसकेका छन् । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी (एचआईडिसिएल) ले पुसभित्र साधारण सभा सम्पन्न गर्नेगरी सभा आह्वान गरेका छन् ।

गत आर्थिक वर्ष २०७९–८० बाट हाथवे इन्भेष्टमेन्ट नेपालले १० प्रतिशतबोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिएको छ भने इमर्जिङ्ग नेपालले ८.४२, एचआईडिसिएलले ५.२६ र निफ्राले ४.२१ प्रतिशत नगद मात्र वितरण गरेको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सेयरधनीको हात खाली पारेको छ ।

अन्य उपसमुहमा सूचीकृत चारले सभा डाक्दा, पुनर्बीमाले मात्र असफल

अन्य उपसमुहमा सूचीकृत पाँच कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी) ले मात्र पुस समान्तको समयमा नै साधारण सभा सम्पन्न गर्न सकेन । एनआरआईसीले गत आवको लाभांश समेत प्रस्ताव गरेको छैन ।

यस अवधिमा नेपाल दूरसञ्चार कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया र नेपाल वेयर हाउजिङ्गले पुसभित्रै साधारण सभा डाकेका छन् । नेपाल रिपब्लिक मिडियाले भने कार्तिक ३ गते नै एजीएम सकाएको छ । गत आर्थिक वर्ष २०७९–८० बाट नेपाल दूरसञ्चार कम्पनीले मात्र ४० प्रतिशत नगद लाभांश दिएको छ भने बाँकी तीन कम्पनीले हात खाली बनाएका छन् । 

नेपाल फिल्म डेभलपमेन्ट कम्पनी सेयर बजारबाट बेपत्ता छ । यस कम्पनीले वर्षौदेखि साधारण सभा सम्पन्न गरेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।