नेप्से परिसूचक २७.९० अङ्कले बढ्यो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, बुधबार बढेर बन्द भएको हो । कारोबार अवधिको अधिकांश समय सुस्त रहेको नेप्से खरिदकर्ता हाबी हसँदा २ बजेपछि बढेको थियो ।

आज ३०६ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर ९६ हजार २५२ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

आज सबै समूहका १३ वटै उपसमुहगत सूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ३.०८ र उत्पादन तथा प्रशोधन समूह २.०८ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ भने विकास बैंक, वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस्तै आजको कारोबारमा ७ टा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । नेपाल वेयर हाउजिङ्ग, सनराइज फोकस्ड इक्विटी फण्ड र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ। 

सबैभन्दा धेरै गुमाउनेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.१० प्रतिशत र प्रभु स्मार्ट फन्डको सेयर मूल्य ४.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्यामा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २६ करोड ६३ लाख ९१ हजार चार सय १६ बराबरको ५ लाख ७० हजार ७१७ कित्ता सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट्सको २३ करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ भने आइएमई लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम १५ करोड नाघेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।