तीन कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १८ गते बुधबार तीन कम्पनीको बोनस सेयर समायोजनपछि नयाँ भाउ तोकिएको छ । नेप्सेमा यस दिन शिवम सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक र लक्ष्मी सनराइज बैंकको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले शिवम सिमेन्ट्सको १४.२५ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयर समायोजन गरेर नयाँ भाउ तोकेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले पुस १९ गते बिहीबार बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

शिवम सिमेन्ट्सको १४.२५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता सेयर मूल्य ५१७ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । बुधबार अन्तिम पटक कम्पनीको सेयर ५९१ रुपैयाँमा खरिद बिक्री भएको थियो । यसैगरी मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ३७१ रुपैयाँ ७५ पैसा तोकिएको छ । कम्पनीको सेयर बुधबार अन्तिम पटक ४०८ रुपैयाँमा खरिद बिक्री भएको थियो । साथै लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता १८१ रुपैयाँ ५९ पैसा मूल्य तय भएको छ । कम्पनीको सेयर मंगलबार अन्तिम पटक १९४ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

नेप्सेले बुधबार समायोजन गरेको भाउलाई आधार मानेर अब तीनओटै कम्पनीको बिहीबार दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ ।

आज पुस १८ गते बुधबार नेपाल टेलिकम (एनटिसी), ग्लोबल आइएमई लघुवित्त, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीको पनि लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेपनि ती कम्पनीले प्रस्ताव गरेको नगद लभांश दोस्रो बजार भाउको १० प्रतिशतभन्दा कम भएका कारण नेप्सेले मूल्य समायोजन नगरेको हो । नेप्सेले दोस्रो बजारको १० प्रतिशतभन्दा कम नगद लाभांशमा सेयर मूल्य समायोजन गर्ने गरेको छैन । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बिहीबार बुकक्लोज तोकेका सबै कम्पनीको आज बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र सम्बन्धीत कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनटिसीले ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २९ गते बिहान ११ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। शिवम् सिमेन्ट्सले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार बिहान ९ बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले पुस २६ गते बिहीबार दिउँसो २ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौामा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०।५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद गरी कुल १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते दिउँसो १ बजे सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ।

महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजनसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रालि, लेकसाइड पोखरामा ११ औं वार्षिक साधारण सभा बोलाएको छ । साथै बुटवल पावरले ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।