‘एनआईबिएल स्टेबल फन्ड’ को १० करोड इकाई माघ २ गतेदेखि बिक्रीमा आउने

0
Shares

आगामी माघ २ गतेदेखि एक अर्ब मूल्यको ‘एनआईबिएल स्टेबल फन्ड’ को इकाई बिक्री खुला हुने भएको छ । योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

जारी हुने कुल १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई तथा एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

यसअघि पाँच वटा म्युचुअल फन्ड सञ्चालन गरिसकेको एनआईएमबि एस क्यापिटल लिमिटेडले छैटौं म्युचुअल फन्ड सञ्चालनमा ल्याउने भएको हो । क्यापिटलले एक खुलामुखी र चार ओटा बन्दमुखी प्रकृतिको फन्ड सञ्चालन गरेकोमा एकको अवधि समाप्त भई परिपक्क समेत भैसकेको छ । क्यापिटलले पहिलो खुलामुखी फन्ड एनआईबिएल सहभागिता फन्ड सहित तीन वटा बन्दमुखी फन्डमा योजना व्यवस्थापको भूमिका निर्वाह गरिरहेको छ । ‘एनआईबिएल स्टेबल फन्ड’ १२ वर्ष अवधिको बन्दमुखी प्रकृतिको सामुहिक लगानी कोष योजना हो ।

लगानीकर्ताले माघ २ देखि छिटोमा माघ ५ गतेसम्म र सो अवधिमा समेत सबै इकाई बिक्री नभएको खण्डमा माघ १६ गतेसम्म ‘एनआईबिएल स्टेबल फन्ड’ को इकाई खरिद गर्न सक्नेछन् । फन्डको इकाई खरिदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट तथा मोबाइल एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । आवेदन दिने अन्तिम दिनभित्र कम्तिमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरीदको माग नपरेको खण्डमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु हुनेछ ।

फन्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।