क्षेत्रीय बैंकको जोखिम घटाउन चीनका प्रान्तीय सरकारको ३१ अर्ब डलर सहयोग

0
Shares

चीनका केन्द्रीय बैंकहरुलाई धरासायी हुन नदिन विभिन्न प्रान्तहरुले ३१ अर्ब डलर क्षेत्रीय बैंकिङ च्यानलमा प्रवाह गरेका छन् ।

पछिल्लो समयमा चीनको रियल स्टेट संकटको असर बैंकहरुमा समेत देखा परेको छ । जसकारण बैंकहरुको खराब कर्जा बढेको छ भने बैंकहरुसँग निक्षेप घट्दै गएको छ । यस परिस्थितिको सामना गर्नका लागि चीनका विभिन्न प्रान्तीय सरकारहरुले २१८ अर्ब युवान अर्थात् ३१ अर्ब डलर बराबरको स्पेशल प्रपोज बन्ड जारी गरेका हुन् ।

चीनको वित्तीय डाटा वितरक वीन्डका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा स्पेशल प्रपोज बन्डको बिक्री ३ गुणाले बढेको छ । प्रान्तीय सरकारहरुले जारी गर्ने उक्थ बन्डले धरासायी अवस्थामा पुगेका बैंकहरुको पुँजी वृद्धि गरी क्यापिटल बफरको काम गर्छ । तर रियल स्टेट संकटका प्रान्तहरुले जारी गरेको उक्त बन्ड बफरका लागि पर्याप्त छैन ।

सन् २०२० मा कोभिड–१९ का कारण धरासायी भएका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन नदिन प्रान्तहरुले स्पेशल प्रपोज बन्ड जारी गर्न सुरु गरेका थिए । सन् २०२१ मा देशको सबैभन्दा ठूलो रियल स्टेट डेभलपर कम्पनी– इभरग्रान्डे टाट पल्टिएपछि कोभिडका कारण समस्यामा परेको चीनको बैंकिङ क्षेत्र झन्झन् कमजोर भएको थियो । हालसम्म चीनको दक्षिणपूर्वी प्रान्त लिअननिङ र केन्द्रीय प्रान्त–हेनानले बैंकहरुमा तरलता अभाव हुन नदिन र ग्रामीण बैंकहरुको अस्तित्व जोगाइरहन सन् २०२० यता ४ सय ७६ अर्ब युवान बराबरको बन्ड जारी गरेका छन् ।

सन् २०२१ मा इभरग्रान्डे धरासायी भई कम्पनीका महत्वाकांक्षी योजनाहरु ठप्प हुनु, सन् २०२२ को अप्रिलमा चीनको केन्द्रीय प्रान्त हेनानमा रहेका ग्रामीण बैंकहरुले निक्षेपकर्ताको बचत लिएर फरार हुनुले चीनको बैंकिङ प्रणाली कमजोर बनाइरहेको थियो । जसकारण ४० अर्ब युवान बराबर रहेको वचतकर्ताहरुको वचत डुबेको थियो । सन् २०२२ को उक्त घटनापछि हेनान र लिअननिङ प्रान्तले समस्याग्रस्त बैंकहरुको मर्जरका लागि कसरत गरिरहेका छन् ।

हाल चीनमा ३ हजार ८०० ग्रामीण बैंकहरु छन् । यी बैंकहरुको चिनियाँ बैकिङ प्रणालीमा योगदान १२ प्रतिशत रहेको छ । सन् २०२३ मा विभिन्न प्रान्तका २० ग्रामीण बैंकहरु मर्जरमा गएको नेशनल एडमिनिसट्रेसन अफ फाइनान्सीयल रेगुलेशनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

विभिन्न प्रान्तहरुले ग्रामीण बैंकहरुलाई धरासायी हुन नदिन बन्ड जारी गरेता पनि बैंकहरुको वास्तविक पुँजीको अवस्था कमजोर रहेको मूडिज इन्भेस्टर सर्भिसकी विश्लेष्क युलिया यानले बताएकी छिन् । उनले सन् २०२४ मा पनि निर्माण कार्यले तीव्र गति दिन नसक्दा, उत्पादन कम हुँदै जाँदा क्षेत्रीय बैंकहरुको अवस्था कमजोर रहने जानकारी दिइन् ।

सन् २०२३ मा विश्वको शीर्ष अर्थतन्त्र अमेरिकामा समेत ठूलो बैंकिङ संकट देखा परेको थियो । सन् २०२३ को मार्चमा क्यालिफोर्नियाको सिलिकन भ्याली बैंक र न्युवर्कको सिग्नेचर बैंक, मे महिनामा सानफ्रान्सिस्कोको फस्र्ट रिपब्लिक बैंक, जुलाईमा हार्टल्यान्ड ट्रि–स्टेट बैंक र नोभेम्बरमा लसएन्जलसको सिटिजन्स बैंक टाट पल्टिएको फेडरल डिपोजिट इन्स्योरेन्सले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।