अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद स्वीकृत

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निश्कासनका लागि स्वीकृति प्राप्त गरेको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई एक बराबर एक (१ः१) कित्ताको अनुपातमा हकप्रद सेयर निश्कासनको स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको हो । साथै, हकप्रद सेयर प्रयोजनको लागि सेयर दर्ता किताब बन्द हुने मिति आगामी सञ्चालक समितिको बैठकबाट तय गरिने कम्पनी सचिव रन्जु अधिकारीले जानकारी दिइन् ।

कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट चुक्ता पुँजीको एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निश्कासनको पूर्व स्वीकृति प्राप्त गरि २०८० साउन २४ गते धितोपत्र बोर्डमा आवेदन गरेको थियो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम कम्पनीले ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ एएचपीसी हाइड्रोपावरले विकास गर्दै गरेको ३० मेगाबाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्व:पुँजीको लागि लगानी गर्नेछ । यस्तै बाँकी रहेको ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकबाट लिएको ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।