औद्योगिक कर्जा र रोजागारी वृद्धि भएपनि कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोगमा गिरावट

0
Shares

आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा संचालित उद्योगहरुको औसत क्षमता उपयोगमा गिरावट आएको छ । उद्योगहरुको क्षमता उपयोगमा कमी आएपनि यस क्षेत्रमा उद्योगहरुमा परिचालित कर्जा भने बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७८/७९ मा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा इँटा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.२ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.७ प्रतिशत रहेको छ । कोशी प्रदेशका नमुना छनोटमा परेका उद्योगहरुको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५४.७ प्रतिशत रहेको छ।

राष्ट्र बैंकको अध्ययनमा समेटिएका उद्योगहरुको उत्पादनमध्ये इँटाको उत्पादन सबैभन्दा बढी ३४२.५ प्रतिशतले बढेको छ भने भटमासको तेलको उत्पादन सबैभन्दा बढी ५१.९ प्रतिशतले घटेको छ । कोही प्रदेशका ठुला ४२ उद्योगहरुमा आर्थिक वर्ष २०७८/७९ मा कुल १७ हजार २७० जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा १७.८ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएर २० हजार ३४४ जना कार्यरत रहेका छन्।

समीक्षा बर्षमा टायर तथा ट्युव उत्पादन गर्ने उद्योगहरुमा सबैभन्दा बढी ४९ प्रतिशतले रोजगारी कटौती भएको छ भने बनस्पती घिउ उत्पादन गर्ने उद्योगहरुमा सबैभन्दा बढी १४४ प्रतिशतले रोजगारीमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.७९ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशको आर्थिक वृद्धि २ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि ५.४७ प्रतिशत रहेको थियो।

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा १२.२ प्रतिशतले वृद्धि भई ६१ अर्ब १९ करोड २६ लाख १० हजार पुगेको छ । २०८० असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ११.० प्रतिशत रहेको छ।  २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा कुल औद्योगिक कर्जा ६.६४ प्रतिशतले बढेर १ खर्ब २९ अर्व कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा १६.५ प्रतिशतले घटेको थियो ।

२०८० असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७६१, विकास बैंकका १९४, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८७२ गरी जम्मा १,८६३ शाखा पुगे का छन्। २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १५ प्रतिशतले वृद्धि भई ४ खर्ब २१ अर्ब र प्रवाह गरेको कर्जा २.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब पुगेको छ ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ८.२ प्रतिशत, बचत निक्षेपको अंश ३९.६२ प्रतिशत, मुद्दती निक्षेपको अंश ४६.३३ प्रतिशत र अन्य निक्षेपको अंश ५.८५ प्रतिशत रहेको छ । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी २.१ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको पुँजी १२.७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा यस प्रदेशका होटलहरुमा आन्तरिक पर्यटकको संख्या ६२.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४८.१ प्रतिशतले बढेको थियो । आ.व. २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा समग्र जहाज उडान संख्या ४३.७ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मकै, गहुँ, कोदो र फापरले ढाकेको क्षेत्रफल बढेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढेको देखिन्छ।

कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.९ प्रतिशत, तरकारी बालीको ५ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७.१ प्रतिशत रहेको छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.८ प्रतिशतले बढेको छ । विशेष गरी खाद्य बाली अन्तर्गत धान ५.७ प्रतिशत, मकै २.९ प्रतिशत, गहुँ १.५ प्रतिशत, कोदो ११.२ तथा चिया १२.५ प्रतिशतले बढेकाले समग्र कृषि बालीको उत्पादन बढेको देखिन्छ।

मुलुकको कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको हिस्सा २१.५१ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ भने उद्योग क्षेत्रको उत्पादनमा २०.१२ प्रतिशत र सेवा क्षेत्रमा १२.६३ प्रतिशत योगदान रहने अनुमान गरेको छ । अघिल्ला वर्ष कृषि, उद्योग र सेवा क्षेत्रमा कोशी प्रदेशको हिस्सा क्रमशः २१.५५ प्रतिशत, १९.९३ प्रतिशत र १२.५८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा १४५.१ मे.वा. उत्पादन क्षमता भएका ७ वटा विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै यस प्रदेशको कुल विद्युत उत्पादन क्षमता ४४७.८ मे.वा. पुगेको छ । मदन भण्डारी लोकमार्गको दोस्रो खण्ड (उदयपुर, सिन्धुली) अन्तर्गतको १३५ कि.मी. सडक निमार्ण कार्य तथा कोशी करीडोर अन्तर्गत तुम्लिङटार–वानेश्वर–वसन्तपुर–इनरुवा गरी ४ वटा सव स्टेशन निमार्ण कार्य अन्तिम चरणमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।