सुदूरपश्चिम प्रदेशमा १६ प्रतिशतले निक्षेप बढ्दा कर्जा लगानी साढे एक प्रतिशतमा सिमित

0
Shares

सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिको तुलनामा कर्जा लगानी विस्तार निकै न्यून रहेको छ । आर्थिक वर्ष २०७९/८० मा उक्त प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट १६ प्रतिशत भन्दा धेरैले निक्षेप वृद्धि गर्दा कर्जा विस्तार भने साढे एक प्रतिशतले मात्र भएको हो ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले वृद्धि भई १ खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको छ । अघिल्लो आवमा बैंक वित्तीय संस्थाको निक्षेप ५.८६ प्रतिशतले वृद्धि भएको थियो ।

गत आवमा आर्थिक मन्दी तथा समग्र बजारमा माग बढ्न सकेको थिएन । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसकेका हुन । आर्थिक गतिविधि नै सुस्त भएपछि उद्योगी व्यवसायीले व्यवसाय विस्तार गर्ने भन्दा पनि भएकोलाई पनि कसरी टिकाउने तर्फ ध्यान केन्द्रीत गर्दा कर्जाको माग बढ्न नसकेको होे । तर, रेमट्यिान्स आप्रबाहमा क्रमीक सुधार आएपछि निक्षेप संकलन भने बढ्न पुगेको हो ।

२०८० असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १.५० प्रतिशतले वृद्धि भई १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको छ । अघिल्लो आवमा कर्जा विस्तार १७.४२ प्रतिशतले भएको थियो ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२८ प्रतिशत छ । त्यसैगरी बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.५० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले सुदूरपश्चिम प्रदेशकम प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७९ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.९८ प्रतिशत प्रतिशत रहेको छ ।

कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर चालु आवमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकोमा सुदूरपश्चिम प्रदेशको आर्थिक बृद्धिदर १.७८ प्रतिशत रहने अनुमान छ ।

गत आवमा यस प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ५३.२८ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये गत आवमा तेल, चामल, चिनी, साबुन र ईटाको उत्पादन वृद्धि भएको छ भने गँहुको पीठो र रोजिनको उत्पादनमा ह्रास आएको छ ।

गत अवामा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १७.७२ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा ४.७० प्रतिशतले वृद्धि भई २६ अर्ब ८९ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आवसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल ११० मेगावाट विद्युत उत्पादन भई १३२ केभी प्रसारण लाईनमा जोडिएको केन्द्रीय बैंकको अध्ययनमा उल्लेख छ ।

गत आवमा यस प्रदेशमा समग्र घरजग्गा रजिष्ट्रेशन संख्या ३०.०६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा रजिष्ट्रेसन संख्या ९.७१ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ५४.०१ प्रतिशतले ह्रास भई ६७ करोड ९० लाख भएको छ । अघिल्लो आवमा यस्तो राजस्व संकलन १८.४३ प्रतिशतले वृद्धि भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।