बीमा कम्पनीलाई पीईभीसीमा लगानी गर्ने बाटो खुल्यो, सेयरको सीमा १५% पुर्‍याइयो

0
Shares

नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीलाई पहिलो पटक प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल (पीईभिसी) मा लगानी गर्न सक्ने बाटो खुला गरेको छ ।

प्राधिकरणले दुबै जीवन तथा निर्जीवन बीमकको लगानी निर्देशनमा पुस ५ गते संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन) निर्देशन, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, लघु जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, लघु निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमक कम्पनीहरुको लगानीमा विविधीकरण ल्याउनका लागि निर्देशिका संशोधन गरेर फराकिलो बनाइएको नोटबजारलाई बताए । उनका अनुसार बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फन्डमा कुल लगानीको बढीमा १.५ प्रतिशत लगानी गर्न पाउनेछन् । यस्तै एकै फण्डमा बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फन्डको सङ्ख्या हाल १२ वटा रहेका छन् ।

यद्यपी प्राधिकरणको संसोधनमा यसरी गरिने लगानी गर्नु पूर्व सम्बन्धित कम्पनीले प्राधिकरणको स्वीकृति लिनुपर्ने उल्लेख छ । साथै निर्देशनमा उल्लेख भए भन्दा अन्य क्षेत्रमा लगानी गर्नुपूर्व तथा निर्देशनमा तोकिएको सीमाभन्दा बढी लगानी गर्नु पूर्व पनि प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ” भन्ने व्यवस्था थप गरिएको छ ।

साथै जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा गर्ने लगानीको सीमा बढाएको छ । प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसअघि यस्तो सीमा ५ प्रतिशत मात्र थियो । साथै ‘साधारण सेयर’ भन्ने शब्दहरुको सट्टा ‘सेयर’ भन्ने शब्द राख्ने व्यवस्था पनि संशोधित निर्देशनमा रहेको छ ।

यस्तै बीमा प्राधिकरणले जीवन तथा निर्जीवन लघुबीमा कम्पनीहरुलाई भने प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छैन । लघुबीमा कम्पनीहरुले स–सना क्षेत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था रहेकाले पीईभिसीमा लगानी गर्न खुला नगरिएको निर्देशक पौडेलले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।