आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको जग्गा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा खेती गर्ने क्रम बढेसंगै कृषि बालीले ढाकेको जग्गा बढेको हो ।
आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा २ खर्ब १ अर्ब पुग्ने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढि योगदान ३०.८३ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१८ प्रतिशत प्रशासनिक तथा सहयोग सेवा क्षेत्रको रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ३.११ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । प्रमुख बालीहरु मध्ये धान बालीले ढाकेको क्षेत्रफल १.१८ प्रतिशतले घटेको छ भने मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल समीक्षा वर्षमा क्रमशः ५.५८ प्रतिशत, ०.५२ प्रतिशत र १.८० प्रतिशतले वृद्धि भएको हो । कोदो बालीले ढाकेको क्षेत्रफल १७.५७ प्रतिशतले वृद्धि हुँदा फापर बालीले ढाकेको क्षेत्रफलमा ४६.५८ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ।
त्यस्तै, दलहन बालीले ढाकेको क्षेत्रफल ०.४८ प्रतिशतले वृद्धि भएको छ भने तेलहन बालीले ढाकेको क्षेत्रफल २.०९ प्रतिशतले र भटमास बालीले ढाकेको क्षेत्रफल २.३१ प्रतिशतले घटेको छ । कर्णाली प्रदेशमा तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल क्रमशः ११.६० प्रतिशत र ०.०३ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
गत आवमा कणार्ली प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ५२.१६ प्रतिशत रहेको छ । कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता शत प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम २०.५५ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
उक्त प्रदेशको पुर्वाधारको क्षेत्रमा समेत विकास भएको देखिन्छ । अघिल्लो आवमा ३३ के.भि.को विद्युत प्रसारण लाईन ३८६ कि.मि.रहेकोमा गत आवमा ४६८ कि.मि. पुगेको छ । त्यसैगरी ११ के.भि.को विद्युत प्रसारण लाईन अघिल्लो आवमा २,३८७ कि.मि.रहेकोमा समीक्षा वर्षमा वृद्धि भई ३,०७४ कि.मि. पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप अघिल्लो आर्थिक वर्षको तुलनामा ११.८९ प्रतिशतले वृद्धि भई ६७ अर्ब ४९ करोड ९१ लाख पुगेको छ । अघिल्लो वर्षमा यस्तो निक्षेप ५.४३ प्रतिशतले वृद्धि भई ६० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । गत आवमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ्ग सेवामा आएको बिस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको देखिन्छ ।
गत आवमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ५.४७ प्रतिशतले वृद्धि भई ५७ अर्ब ९३ करोड ६७ लाख पुगेको छ । अघिल्ले आवमा यस्तो कर्जा ७.०१ प्रतिशतले बढेर ५४ अर्ब ९२ करोड ९४ लाख पुगेको थियो । त्यस्तै, आ.व. २०७९/८० को साउन देखि असार मसान्तमा यस प्रदेशको कर्जा तथा निक्षेप अनुपात ८५.८३ प्रतिशत रहेको छ ।
आ.व.२०७९/८० मा ४३७ भेडा तथा च्याङग्रा पाल्ने किसानलाई ३९ लाख ७ हजार वितरण गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। जसमा सबैभन्दा बढी जुम्लामा २२५ जना, हुम्लामा १०९ जना, मुगुमा ५३ जना र डोल्पामा ५० जना किसानहरू भत्ताका लागि मापदण्डमा परेका थिए ।
त्यसैगरी कर्णाली प्रदेश अदुवा उत्पादनको नामबाट पनि चिनिन्छ । कर्णालीको सल्यान जिल्लाको सारदा नगरपालिका वडा नम्बर १४ र १५ स्थित ढारखानी तथा डाँडागाँऊ वरपरको समग्र भु–भाग लाई मालनेटा क्षेत्र भनिन्छ । उक्त क्षेत्रमा गत आवमा मात्रै ८५ मेट्रिक टन अदुवा उत्पादन भएको केन्द्रीय बैंकले जनाएको छ।
अदुवा उत्पादनका लागि नेपालकै प्रसिद्ध स्थानको रुपमा रहेको मालनेटा क्षेत्रमा हाल लगभग २०० घर परिवारका किसानहरुको आवद्धता रहेको छ । मालनेटा क्षेत्रको ओसिलो भईराख्ने र खडेरीमा पनि ठुलो असर नदेखिने माटोको विशेषता अदुवा उत्पादनको लागि वरदान सावित रहेको छ । अदुवा उत्पादनका लागि प्रयोग भएको जमिन हरेक तीन वर्षमा मात्रै दोहारिने हुँदा सबै उत्पादनशील जमिनमा अदुवा खेती गरिदैन । प्रत्येक घरधुरीले लगभग ३ रोपनीका दरले वर्षेनी ८०० के.जि. देखि १,००० के.जि. सम्म बीऊ रोप्छन् । यसरी रोपिएको बीऊलाई भदौमा निकालिन्छ जसलाई बुर्नि भनिन्छ । गत आवको भदौ महिनामा बुर्नी प्रति के.जि. रु.१७० सम्म विक्रि भएको थियो ।
गत आवमा उक्त क्षेत्रमा अदुवा लगाइएको क्षेत्रफल १९.९२ प्रतिशतले विस्तार भई ३०.५२ हेक्टर पुगेको छ । फलस्वरुप अदुवा उत्पादनमा २६.८६ प्रतिशतले वृद्धि भई ८५ मेट्रिक टन पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्ले आवमा अदुवा खेतीले ओगटेको क्षेत्रलमा १६.६१ प्रतिशतले कमि आएको थियो । जसको कारण अदुवा उत्पादनमा १६.२५ प्रतिशतले कमी आई ६७ मेट्रिक टन कायम भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया