सिटिजन्स बैंकको ऋणपत्रमा नेप्सेमा सूचीकृत

0
Shares

सिटिजन्स बैंकले बिक्री गरेको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ को ३० लाख कित्ता इकाई ऋणपत्र सूचीकृत भएको छ ।

बैंकले गत असोज १७ देखि कात्तिक १ गतेसम्म एक हजार दरका ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेप्सेको पुस १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २३ गते सोमबार सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएसँगै उक्त ऋणपत्र मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार योग्य बनेको छ । नेप्सेमा सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार हुने व्यवस्था छ ।

बैंकले हिमालयन क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्रमा लगानीकर्तालाई वार्षिक १० प्रतिशत ब्याजदर दिनेगरी सर्वसाधारणमा बिक्री खुला गरिएको थियो । ऋणपत्रमा आर्जित ब्याज रकम बैंकले प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्नेछ ।

बैंकले बिक्री गरेको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारण (सामूहिक लगानी कोषहरुका लागि ६० हजार कित्ता ऋणपत्र समेत) मा बिक्री खुला गरिएको थियो ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।