समस्यामा परेका ऋणीहरुले चैत मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने


नेपाल राष्ट्र बैंकले आर्थिक संकटले समस्यामा परेका ऋणीको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा व्यवस्था भए बमोजिम समस्यामा परेका ऋणीको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न निर्देशन दिएको हो ।

बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन (सूर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र संचार, थोक तथा खुद्रा विक्री, पर्यटन, शिक्षा एव स्वास्थ्य, निर्माण (सिमेन्ट, डण्डी, ईँटा\ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मको कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना २०८० चैत मसान्तभित्र गरिसक्न भनेको छ।

राष्ट्र बैंकले ऋणीको अनुरोधमा उद्योग\व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी राष्ट्र बैंकले तोकेको शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न निर्देशन दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।