निक्षेप सङ्कलनमा हालसम्मकै उच्च ब्याजदर माग, केन्द्रीय बैंकले लिएन मागेजति निक्षेप


बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा निक्षेप राख्दा हालसम्मकै उच्च ब्याजदर माग गरेका छन् । तरलतामा कमी आएसँगै बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा निक्षेप राख्नका लागि धेरै ब्याज माग गरेका हुन । 

केन्द्रीय बैंकले अल्पकालिक ब्याजदरलाई स्थायित्व दिनका लागि बैंकिङ प्रणालीको तरलतालाई निक्षेप संकलन उपकरण मार्फत खिचिराखेको छ । गत मंसिर महिनाको पहिलो साता देखि सुरु गरेको निक्षेप संकलन उपकरण अझै केही समय प्रयोग गर्नु पर्ने अवस्था देखिएको छ । केन्द्रीय बैंकले ७, १३, १४ र २१ दिने अवधिको निक्षेप बैंक वित्तीय संस्थाबाट लिदै आएको छ । केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन उपकरण मार्फत अधिक तरलता खिच्ने र अन्तर बैंक ब्याजदर बढाउने कम गर्दै आएको छ । केन्द्रीय बैंकले अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आउन नदिनका लागि निक्षेप संकलन उपकरण जारी गर्छ ।

 वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम जारी भएपनि कर्जा लगानी विस्तार हुन नसक्दा अधिक तरलताको अवस्था छ । त्यसले गर्दा पनि अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा पनि कम हुने गरेको छ । पछिल्लो समयमा निक्षेप संकलन उपकरणका कारण अन्तर बैंक ब्याजदर बढेर साढे २ प्रतिशत भन्दा माथि पुगको छ । 

पुरानो निक्षेप संकलन परिपक्क हुने र वित्तीय प्रणालीमा अधिक तरलता भइ अल्पकालीन ब्याजदर घटन सक्ने भएपनि केन्द्रीय बैंकले मंगलबार पनि ३५ अर्ब निक्षेप संकलन जारी गर्यो । उक्त निक्षेप सङ्कलनमा बैंक वित्तीय संस्थाले २६ अर्ब ४५ करोड मात्र दिन चाहे । बैंक तथा वित्तीय संस्थाले माग गरेभन्दा पनि थोरै आवेदन त्यसमा पनि ब्याजदर बढाएर निक्षेप दिन खोजेपछि केन्द्रीय बैंकले आवेदन परेकोमध्ये पनि सबै निक्षेप स्किार गरेन । मंगलबार केन्द्रीय बैंकले ब्याजदर बढाउन नचाहँदा २३ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र तरलता खिचेको छ । 

मङ्गलबारको निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.५ र न्यूनतम २.६८९९ प्रतिशत ब्याज माग गरेको केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेपको औसत ब्याजदर ३.०९३२ प्रतिशत कायम भएको छ । मंगलबार निष्कासन भएको निक्षेप सङ्कलनको ब्याजदर औसत अन्तर बैंक ब्याजदर भन्दा धेरै हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक वित्तीय संस्थाको औसत अन्तर बैंक ब्याजदर २.६५ प्रतिशत रहेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।