जगदम्बा स्टील्सको सेयर अंकित मूल्यमा दिलाउन माग गर्दै स्थानीय सरकार धितोपत्र बोर्डमा


अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरेर सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जगदम्बा स्टिल्सलाई आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अंकित मूल्यमा सेयर जारी गर्न दवाब दिएका छन् ।

उद्योग आसपासका वासिन्दा तथा स्थानीय निकायका वडा प्रमुखहरुले उद्योगले उक्त क्षेत्रमा पारेको असरलाई हेरेर स्थानीयलाई अंकित मूल्यमा नै सेयर दिने व्यवस्था गरिदिन नियामक निकायलाई आग्रह गरेका हुन् ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैयाँ प्रतिकित्ताको दरमा २ करोड ७० हजार कित्ता सेयर सर्वसाधारण तथा स्थानीयमा जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको थियो । गत असोज १७ गते उल्लेखित दरमा ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्काशनका लागि कम्पनीले बोर्डमा आवेदन दिएको थियो ।

उक्त मूल्यमा उद्योग रहेको स्थानका बासिन्दाले सेयर आवेदन गर्न नसक्ने भन्दै स्थानीयबासी, स्थानीय तहका प्रमुखहरुले धितोपत्र बोर्ड, कम्पनी तथा अन्य निकायमा ज्ञापनपत्र बुझाएका हुन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १ र २ का बासिन्दाले अंकित मूल्य १०० रुपैयाँको दरमा साधारण सेयर पाउनु पर्ने माग धितोपत्र बोर्डसँग राखेका हुन् । उनीहरुले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा पनि सोही व्यहोराको मागपत्र बुझाएका छन् ।

धितोपत्र बोर्डले कम्पनीले पेश गरेको आवेदनका सबन्धमा पहिलो पटक गत मंसिर १२ गते कमेण्ट पठाएकोमा कम्पनीले मंसिर १८ गते नै सोको जवाफ पठाएको थियो । सो पश्चात पुस २० गते फेरी बोर्डले कम्पनीलाई कमेण्ट पाएको छ । सो लगत्तै स्थानीयहरुले बोर्डमा स्थानीयलाई न्याय हुनेगरी अंकित मूल्यमा सेयर दिलाइदिन आग्रह गर्दै हस्ताक्षर बुझाएका हुन् ।

जितपुर सिमरा उपमहानगरपालिका १ र २ लाई अति प्रभावित क्षेत्रमा राखेर स्थानीयलाई अंकित मूल्यमै आइपीओ बिक्रीको अनुमति दिनुपर्ने माग उनीहरुले गरेका छन् ।

सिमरा २ मा जगदम्बा स्टिल उद्योग सञ्चालनमा रहेको छ । कम्पनीबाट निस्कने धुवाँ, धुलोका कारण आफूहरु विभिन्न रोगबाट पीडित भइरहेको अवस्थामा कम्पनीले निर्धारण गरेको प्रिमियम आफुहरुलाई स्वीकार्य नहुने उनीहरुको भनाई छ ।

जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर १ र २ का प्रमुहरुले अलग अलग पत्रबाट सम्बन्धित निकायहरुमा स्थानीयको माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् । प्रिमियम मूल्यमा आफुहरुलाई सेयर बिक्री गर्न लागिएको भन्दै वडाबासीहरुले सम्बन्धित वडामा उजुरी दिएको र सोही उजुरीका आधारमा प्रभावित वडा नम्बर १ र २ ले बोर्डलाई पत्र काटेको हो ।

स्टिलको भट्टीबाट निस्कने धुवाँधुलोबाट प्रभावित वडाका बालबालिका, वृद्धवृद्धामा क्षयरोग, क्यान्सर, दमजस्ता दीर्घ रोगहरुबाट पीडित बनाएको उनीहरुको आरोप छ । उद्योगबाट कुनै लाभ नपाएको बरु आईपीओमा समेत अन्यलाई सरह प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि पनि प्रिमियम तिर भनेर उद्योगले अत्याचार गर्न लागेको स्थानीयको आरोप छ ।

स्थानीयवासी एवं सर्वसाधारणलाई कम्तीमा ६० प्रतिशत सेयर आरक्षित गर्न पनि उनीहरुले माग गरेका छन् । उल्लेखित मागहरु पुरा नभएको अवस्थामा सेयर निष्काशनको अनुमति नदिन पनि स्थानीयले बोर्डसँग आग्रह गरेका छन् ।

धितोपत्र बोर्डले भने नयाँ अध्यक्ष नियुक्त नभईञ्जेल कम्पनीको सेयर निष्काशनको आवेदन स्वीकृत नहुने र अध्यक्षले नै स्थानीयका मागका सम्बन्धमा निर्णय लिने जनाएको छ । बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डमा पत्र आएको औपचारिक जानकारी आफुलाई नभएको बताउँदै दर्ता भएको हुन सक्ने र त्यसलाई अध्यक्षले नै सम्बोधन गर्ने बताए ।

कम्पनीले निष्काशन गर्न लागेको कुल सेयर मध्ये २ प्रतिशत सेयर स्थानीयका लागि छुट्याउने तयारी गरेको छ । रमेश हमाल बोर्डको नेतृत्वमा रहँदा नै प्राथमिक निष्काशनको अनुमति पाउने तयारीका साथ कम्पनीको सेयर निष्काशन प्रकृया अघि बढेको थियो । हमाल कार्यकाल सकिएर विदा बसे लगत्तै स्थानीयले अघि सारेको मागका कारण बोर्डले कम्पनीलाई तत्काल सेयर निष्काशनको अनुमति दिने सम्भावना टरेको छ । नयाँ अध्यक्ष नियक्ती पश्चात मात्र प्रकृया यथास्थितीमा वा संसोधनसहित अघि बढ्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।