सुनको बजार भारतमा ठूलो हुँदा नेपालमा तस्करी बढ्यो, अबैध सुनबाट सरकारी ढुकुटीमा पौने ३ अर्ब

0
Shares

छिमेकी मुलुक भारतमा सुनको बजार ठूलो हुँदा नेपाल तर्फ तस्करी बढेको छ । बजारको आकार ठुलो भएसंगै भारतको भन्दा नेपालमा सुन आयात गर्दा लाग्ने भन्सार दर कम भएकाले पनि तस्करी बढेको हो ।

नेपालमा सुन आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । त्यसैगरी भारतमा सुन आयात गर्दा १८.४५ प्रतिशत राजस्व तिर्नुपर्छ  । भारतमा गरगहना देखि धर्म संस्कृतीमा नै सुनको अधिक प्रयोग हुन्छ । क्षेत्रफल र जनसंख्याको हिसावले पनि ठूलो देश भएसंगै धर्म संस्कृतीमा सुनको प्रयोग गर्ने प्रचलनले सुनका लागि भारतीय बजार बृहत छ ।

भारतको भन्सार दर भन्दा नेपालको सस्तो हुनु तथा भन्सार छली गर्दा तस्करीलाइ ठूलो मात्रामा आर्थिक लाभ हुने भएपछि नेपालमा सुनको तस्करी बढ्दै गएको हो । नेपालमा तस्करी गरेर उक्त सुन भारतीय बजारमा अबैध माध्यमबाट नै निर्यात हुन्छ । नेपालबाट भारत अबैध निर्यातका लागि खुला सीमानाका कारणले पनि धेरै सहज छ । त्यसले गर्दा भारतीय बजारलाई लक्षित गरेर नेपाली भुमी प्रयोग गर्दै तस्करी हुने गरेको एक प्रहरी अधिकृतले बताए ।

आर्थिक वर्ष २०७५/७६ यता सुन तस्करी कम हुँदै गएको थियो । तर आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कात्तिकसम्मको चार महिनाको अवधिमा भने तस्करी झनै मौलाउँदै गएको छ। । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ९३ किलो सुन तस्करी भएको नेपाल प्रहरीले जनाएको छ ।

सुन आयातमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने हुँदा भन्सार छलेर ल्याउँदा कर बापतको रकम फाइदा लिन सक्ने भएको हुनाले तस्करी मौलाएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जनाए । “भन्सार तिरेर १ किलो सुन ल्याउदा १२ लाख कर बुझाउनु पर्छ,” शाक्यले भने,“नेपालभन्दा भारतमा सुन आयातमा भन्सार बढी लाग्छ  । धेरै सुन खपत हुने भारतीय बजार, खुला सीमाना र भन्सार दर भारतको भन्दा नेपालको कम भएकाले पनि तस्करी बढको हो।”

सरकारले भन्सार नाका र खास गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवत जावत गर्नेहरुको निगरानी र चेकजाँचमा कडाइ गरेपछि सुन तस्करी बाहिर आएको प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले बताए । “सुुन विदेशबाट नै आयात हुने गर्दछ, त्यसैले विदेशबाट आउनेको चेकजाँचमा कडाइ गरिएको छ,’ कडायतले भने, “सुन तस्करी बढेको नभई चेकजाँचमा कडाई गरिएकोले धेरैलाई नियन्त्रणमा लिन सकिएको हो ।” सुन तस्करी नियन्त्रण गर्न राज्यले सक्रियता बढाएपछि सुन तस्कर समातिन थालेको उनको भनाई छ ।

सरकारले एक जना व्यक्तिले विदेशबाट आउँदा पुरुषले २५ र महिलाले ५० ग्रामसम्म सुनको गहना ल्याउदा भन्सार छुटको व्यवस्था छ भने सो भन्दा बढी २ सय ग्रामसम्म ल्याएको खण्डमा नियमित भन्सार दर र त्यसमा थप ३ प्रतिशतसम्म भन्सार शुल्क लाग्ने व्यवस्था छ ।

तस्करीको सुनबाट राज्यलाई पौने ३ अर्ब

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म बरामद गरिएको अवैध सुनबाट सरकारले २ अर्ब ७४ करोड ८८ लाख २२ हजार २ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले उक्त रकम पछिल्लो पाँच वर्षको अवधिमा १८३ किलो सुन बरामद गरेवापत राजस्व आम्दानी गरेको हो ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६१ केजी, २०७६/७७ मा ३४ केजी, २०७७/७८ मा ३७ केजी, २०७८/७९ मा ३१ केजी र २०७९/८० मा २० केजी अवैध सुन बरामद गरेको थियो । प्रहरीको पाँच वर्ष यताको तथ्याङ्क हेर्दा नेपाल सुन तस्करीको अड्डा बन्दै गएको पुष्टि भएको छ ।

सरकारले अबैध सुनको बरामदबाट आर्थिक वर्ष २०७५/७६ मा ३० करोड १७ लाख ५७ हजार ३२७ रुपैयाँ, २०७६/७७ मा २० करोड ३० लाख ५१ हजार १३२ रुपैयाँ, २०७७/७८ मा २७ करोड चार लाख २५ हजार २८१ रुपैयाँ, २०७८/७९ मा ९७ करोड ४७ लाख ३९ हजार ९८९ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा बरामद गरिएको अवैध सुनबाट सरकारले १७ करोड २० लाख २२ हजार २४३ रुपैयाँ राजस्व उठाएको थियो । गएको पाँच आर्थिक वर्षमा अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा ३७७ व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सुन आयातवाट पाँच वर्षमा १४ अर्ब राजस्व

पछिल्ला पाँच वर्षको अवधिमा सरकारले औपचारी माध्यमबाट आयात भएको सुनबाट मात्रै १४ अर्ब ९० करोड ४ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको अवधिमा एक खर्ब ३३ अर्ब ३९ करोड ५० लाख ३४ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

मंसिरमा कँहाबाट कति तस्करीको सुन समातियो

गत मंसिर २१ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई व्यक्ति पक्राउ परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले उक्त सुन बरामद गरेको हो । फ्लाई दुबईको उडान ‘एफजेड ५७३’ बाट उक्त सुन भित्रिएको थियो । टोलिले सुन सहित गोरखाका चन्द्र घलेले पनि समातिएका थिए । उनले विभिन्न समयमा गरी १३८ किलो सुन तस्करी गरेको बताएका थिए ।

१४ किलो सुन पक्राउ परेको भोलिपल्ट मंसिर २२ गते काठमाडौंकै नागढुंगाबाट थप दुई किलो सुनसहित तीन व्यक्ति पक्राउ परे । पक्राउ पर्नेमा रसुवा, गोसाइँकुण्डका ग्यालछिङ तामाङ, सोही ठाउँका बिरु तामाङ र सुनिल भुजेल छन् । त्यसपछि फेरि मंसिर २६ गते राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडबाट करिब आठ किलो सुनसहित एक व्यापारीलाई पक्राउ गर्यो । प्रहरीका अनुसार न्युरोडमा पदमप्रसाद पाण्डेले सञ्चालन गरेको ओम पल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट बिल–बिजकविनाका सुनका गहना र टुक्रा नियन्त्रणमा लिएको थियो ।

यस्तै, मंसिर ३० गते (बिहीबार) विमानस्थल प्रहरीले भन्सार पास भइससकेको अवस्थामा साढे ६ किलो सुन सकित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका थिए ।

बरामद सुन कहाँ जान्छ ?

गैर कानुनी बाटोबाट ल्याएको सुन बरामदपछि आवश्यक प्रक्रिया पुा गरेर सरकारी धुकुटीमा राखिन्छ । बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकले राख्छ र सुनको मूल्य बराबरको रकम राष्ट्र बैंकले राजस्वका रूपमा सरकारी खाता जम्मा गर्छ । केन्द्रीय बैंकले यस्तो सुनबाट असर्फी बनाउने र बिक्री वितरणसमेत गर्ने गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।