मन्त्रिपरिषद्को निर्णयपछि पनि लाइन नजोड्नु दुर्भाग्यपूर्ण: उद्योगी

0
Shares

उद्योगीहरुले मन्त्रिपरिषदको निर्णय पछि पनि विद्युत लाइन काटिएका उद्योगहरुमा अझै लाइन जडान नगरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

पीडित तथा प्रताडित उद्योगी समूहले शुक्रबार विज्ञप्ति जारी गदै सरकारले छानबिन आयोग गठन गरी विद्युत जडान गर्न अनुमती दिए पनि लाइन नजोडिनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

उद्योगीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ मंगलबारको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरिश चन्द्र लालको नेतृत्वमा उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको प्रतिनिधी तथा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको प्रतिनिधी सदस्य रहको जाँचबुझ आयोग बनाउने निर्णयलाई हामी पिडित तथा प्रताडित उद्योगी समुहले सकारात्मक रुपमा लिएका छौं ।’

उद्योगीहरुले मन्त्रीपरिषद्को निर्णय अनुसार तत्काल उद्योगमा बिजुली आपूर्ति गर्ने वातावरण मिलाउन माग गरेका छन् । यस्तै, उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम किस्ताबन्दीमा बुझाउने सम्बन्धमा प्रकाशित गरेको सूचनामा गम्भिर ध्यानाकर्षण भएको बताउँदै प्राधिकरण सञ्चालक समितिले ६० किस्तामा बक्यौता महसुल तिर्न सुविधा दिनुको कुनै अर्थ नभएको प्रस्टाएका छन्।

विज्ञप्तीमा भनिएको छ, ‘लोडसेडिङको समयमा विजुली प्रयोग गरेको प्रमाण दिन र तत्कालिन विद्युत महसुल निर्धारण आयोगको १०३ औं र १०८ औं बैठकको मर्म अनुसार प्रिमियम महसुल लगाउनु पर्ने माग गरेको अवस्थामा ६० किस्तामा बक्यौता महसुल तिर्न सुविधा दिनुको कुनै अर्थ छैन ।’

प्राधिकरणले २०८० पुस २४ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै २०८० पुस १६ गते प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरेको थियो ।

यस्तै प्राधिकरणले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ता बन्दीको सुविधाका लागि आवेदन दिन उद्योगीहरुलाई आह्वान गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणले अतिरिक्त महसुल लगाउँदै ४ वर्षपछि बिल जारी गरेकाले विद्युत प्रयोग गरेको प्रमाण माग्नु परेको बताउँदै आयोगले निष्पक्ष न्याय सम्पादन गर्छ भन्नेमा विश्वस्त रहेको उद्योगीहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।