निक्षेपको ब्याजदर घट्ने भएपछि नेप्से साढे ३१ अंकले बढ्यो, झण्डै दर्जन कम्पनीको सर्किट मूल्यमा बढेर कारोबार

0
Shares

निक्षेपको ब्याजदर घट्ने खबर सार्वजनिक भएपछि आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । माघदेखि लागू हुने गरी अधिकांश वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाएका छन् । माघ महीनाका लागि बैंकहरुले ब्याजदर घटाएसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिन थालेको हो ।

पुसको अन्तिम दिन आइतबार सेयर बजारमा हरियाली छाएर बन्द भएको छ । यसदिन नेप्से १.५१ प्रतिशतले बढेर ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको हो । त्यसैगरी ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १.०४ प्रतिशत अर्थात ४.०२ अंक बढेर ३८८.१७ बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से ०.६२ अंकको झिनो बिन्दुले घटेर बन्द भएको थियो । नेप्सेसँगै आइतबार कारोबार रकम पनि अघिल्लो कारोबार दिन ४ अर्ब ३० करोड रहेकोमा यसदिन बढेर करिब साढे ५ अर्ब पुगेको छ । आइतबार ३१४ स्टकको ९४ हजार ५२६ ओटा संख्यामा १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रुपैयाँमा समेटिएको छ ।

सामान्यतयः ब्याजदर र सेयर बजारबीच उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्छ भने बयाजदर घट्दा सेयर बजार बढ्ने गर्दछ । त्यसैले ब्याजदर घटेपछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । ब्याजदर सस्तो भएपछि लगानीकर्ताले सेयर कर्जा पनि सस्तोमा पाउँछन् । जसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने गर्दछ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये यस दिन ११वटा बढेको छ भने दुई घटेको छ । जलविद्युत सर्वाधिक ४.५८ प्रतिशत बढेको बजारमा अन्य २.७७ प्रतिशत, लघुवित्त १.९६ प्रतिशत, फाइनान्स १.५५, विकास बैंक १.२४, लगानी १.२४ र उत्पादन तथा प्रशोधन १.०३ प्रतिशतले कढेको छ । व्यापार ०.९४ प्रतिशत र होटल तथा पर्यटन ०.०१ प्रतिशतले घटेको छ ।

आइतबार १५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेकोमा ११ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । सेयरमूल्य बढ्नेमा अधिकांश हाइड्रोपावर कम्पनी छन् ।

हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, मध्य भोटेकाशी जलविद्युत कम्पनी, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, हिमालयर रि इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर र दोल्ती पावर कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै अपर स्याङ्गे हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड, माउन्टेन हाइड्रो नेपालको पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । प्रभु स्मार्ट फन्ड, पाँचथर पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, ज्योति विकास बैंक बन्ड २०८७, रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज मेगा म्युचुअल फन्ड १ को इकाई मूल्य सर्वाधिक ९.५३ प्रतिशतले घटेको छ भने निर्धन उत्थान लघुवित्तको सेयर मूल्य पनि ४.३१ प्रतिशत घटेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, सनराइज ब्लुचिप फण्डको सेयर मूल्य २ प्रतिशत धेरै घटेको छ । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, १०% हिमालयन बैंक डिबेन्चर २०८३, १०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१, प्रभु सेलेक्ट फन्ड र मोलुङ हाइड्रोपावरको सेयर मूल्य पनि १.७६ प्रतिशत बढीले घटेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको १२ लाख ७४ हजार ४२४ कित्ता सेयर ३५ करोड ६८ लाख ३८ हजार ७२० रुपैयाँमा खरिद बिक्री भएको छ । त्यस्तै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोड ३ लाख, हाथवे इन्भेष्टमेन्टको ११ करोड ८३ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ८३ लाख र अरुण काबेली पावरको ११ करोड ६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड ५७ हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिन बिहीबारको तुलनामा ४९ अर्ब ६७ करोड ९० लाख रुपैयाँले धेरै हो । बिहीबार बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब ७ करोड १० लाख रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।