बतास बद्रर्शले समयमा ऋण तिर्न नसक्दा रेटिङमा घटुवा, पायो ‘डि’ रेटिङ

0
Shares

बतास ग्रुप अन्तर्गतको बतास बद्रर्श प्रालिले २ अर्ब ७९ करोड २० लाख ऋण तोकिएको समयमा तिर्न सकेको छैन । सन् २०२२ को जुलाई महिनामा २ अर्ब ७९ करोड बराबरको कर्जा रेटिङ गराएको कम्पनीले ऋण लिएर बैंकले तोकेको अवधिमा भुक्तानी गर्न नसक्दा रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ गिरावट गरी ‘डि’ रेटिङ गरेको छ ।

सन् २०२२ मा कम्पनीले ३६ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जा र २ अर्ब ४२ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको थियो। इक्रा नेपालले कम्पनीले लिने दीर्घकालीन कर्जाका लागि बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो । कर्जाको समीक्षाका लागि इक्रा नेपालले कम्पनीलाई सम्पर्क गर्दा कम्पनी सम्पर्कमा नआउँदा एजेन्सीले कम्पनीलाई ‘वाच वीथ नेगेटिभ इम्प्लिीकेशन’ को सूचीमा राख्दै रेटिङ वीथड्रल गर्ने जानकारी गराएको थियो ।

रेटिङ वीथड्रलको जानकारी गराउँदा समेत कम्पनीको तर्फबाट कुनै सम्पर्क नभएको र इक्रा नेपालले बारम्बार सम्पर्क गर्दा समेत कम्पनीबाट प्रतिक्रिया नआएको इक्रा नेपालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै कम्पनीले लिएको ऋण भुक्तानी गर्ने अवधि ३० दिनले नाघिसक्दा समेत कम्पनीले ऋण भुक्तानी नगरेको पाएपछि इक्रा नेपालले आफ्नो डिफ्ल्ट रिकग्नीसन पोलिसी अन्तर्गत कम्पनीलाई डि रेटिङ गरेको हो ।

सन् २०१५ मा स्थापना भएको बतास बद्रर्श प्रालि मारुती सुजुकी ब्रान्डका प्यासेन्जर भेइकलको क्षेत्रीय बिक्रेता हो । कम्पनीले गन्डकी तथा धौलागिरी क्षेत्रमा मारुती सुजुकीका प्यासेन्जर भेइकल, महिन्द्रा ब्रान्डका कर्मेशियल भेइकल, प्यासेन्जर भेइकल तथा ट्रयाक्टर र टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

हाल कम्पनीका ३ वटा सोरुम र चारवटा वर्कशप पोखरामा अवस्थित छन् । कम्पनीमा बतास समूहका आनन्दराज बतास, शान्तराज बतास र बिपेन्द्रराज बतासको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।