घलेम्दी हाईड्रोेले ३२ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने


घलेम्दी हाइड्रो लिमिटेडले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

उक्त सेयरमा लगानीकर्ताले माघ ९ गतेदेखि माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान कार्यालय काठमाण्डौ, भक्तपुर, कुमारीपाटी– ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर लगायत ठाउँहरुबाट आवेदन दिन सकिने छ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । तसर्थ १०० रुपैयाँ भन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन ।

तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था÷ कम्पनीले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ, दशमलव खण्डित रुपमा आउने गरी शेयर संख्याको लागि आवेदन गर्न पाइने छैन ।

शेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति शेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँड गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी प्रति शेयर मूल्य कबोल गर्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।