मंगलम इन्डष्ट्रिजको कारोबार घट्दा आम्दानी १३ प्रतिशतले घट्यो

0
Shares

निर्माण क्षेत्र सुस्ताएसँगै पाइप फिटिङको काम समेत प्रभावित भएको छ । जसकारण पिभीसी, सीपिभीसी तथा एचडीपिई पाइप उत्पादन गर्दै आएको मंगलम इन्डष्ट्रिजको कारोबारमा समेत गिरावट आएको छ ।

आर्थिक वर्ष २०२२ मा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०२३ मा १२.६७ प्रतिशतले घटेर ९९ करोड ९० लाखमा खुम्चिएको हो ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा समेत लकडाउन घोषणा हुँदा निर्माण क्षेत्रले गति लिन सकेको थिएन । निर्माण क्षेत्रको काम ठप्प हुँदा यस क्षेत्रसँग जोडिएका एन्सीलरी उद्योगहरुमा समेत असर पुगेको थियो । आर्थिक वर्ष २०२० मा मंगलम इन्डष्ट्रिजको आम्दानी ३२ करोड ९० लाखमा खुम्चिएको थियो । यस्तै आर्थिक वर्ष २०२१ कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ५० लाख रहेको थियो भने आव २०२२ मा १ अर्ब १४ करोड ४० लाख पुगेको थियो । तर आव २०२३ मा भने कम्पनीको आम्दानी १२.६७ प्रतिशतले घटेको पाइएको छ ।

सन् २००९ मा स्थापना भएको मंगलम इन्डष्ट्रिजको स्थापनाको समयदेखि नै पिभिसी, सिपिभीसी, युपिभिसी तथा एचडिपिई पाइपहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मुख्यतः पल्बिङ, कृषि, सिँचाई, ड्रेनेज, बोरवेल, खानेपानी, विद्युत लगायतका क्षेत्रमा प्रयोग हुने विभिन्न पाइपहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । ‘मंगलम’ ब्रान्डनाम मार्फत कम्पनीले आफ्ना उत्पादनको बिक्री वितरण गरिरहेको छ ।

हाल कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरीवाल रहेका छन् भने कम्पनीमा शशि अग्रवालको ७१.९ प्रतिशत र सिनी खेतानको २८.१ प्रतिशत सेयर हिस्सा रहेको छ । कम्पनीले १ अर्ब ८९ लाख बराबरको कर्जाका लागि साख समीक्षा गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ३४ करोड ३९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ६६ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ पुनपुष्टि गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.८ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।