गोल्यान ग्रुपको लगानी रहेको हायात प्यालेस होटल हायात सेन्ट्रिकमा परिणत

0
Shares

व्यापारिक घराना गोल्यान ग्रुपको लगानी रहेको सिटी होटल अर्थात् हायात प्यालेस होटलको नाम परिवर्तन हुने भएको छ । होटल व्यवस्थापन समूहका अनुसार होटलको नाम परिवर्तन भई हायात सेन्ट्रिक होटल हुनेछ ।

हाल सिटी होटलको व्यवस्थापन हायात होटलस् कर्पोरेसनले गर्दै आएको छ । हायात प्यालेस होटलको नाम परिवर्तन गर्ने सम्बन्धमा सिटी होटल र हायात होटलस् कर्पोरेसन सम्झौता भई होटल रिनोभेसनको कार्य सुरु भएको छ ।

काठमाडौँको सोल्टीमोडमा अवस्थित हायात प्यालेस होटललाई हायात सेन्ट्रिक होटलमा परिवर्तन गर्दा यसले दक्षिण एशियामा हायात कर्पोरेशनको बजार विस्तारमा अहम भूमिका खेलेको र दक्षिण एशिया क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्न प्रेरणा दिएको हायात कर्पोरेशनका दक्षिण एशिया विकास उपाध्यक्ष ध्रुव राठोरले बताएका छन् ।

होटलको नाम परिवर्तन भएसँगै रिनोभेसन र रिब्रान्डिङको काम भइरहेको छ । हाल होटलको इन्ट्रान्स र लबी एरिया रिनोभेट हुँदै छ भने स्काई बार एन्ड लाउन्चको निर्माणले तिव्र गति लिएको छ । यसै सन्दर्भमा सिटी होटल लिमिटेडका कार्यकारी निर्देशक अक्ष्य गोल्यान भन्छन्, ‘होटलको नयाँ स्वरुपलाई लिएर हामीहरु उत्साही छौँ । यस परिवर्तनले हामीले देश तथा विदेशबाट पाल्नुहुने अतिथिहरुले चाहेको वातावरण निर्माण गर्नुका साथै उहाँहरुको बसाइ सुखद र यादगार बनाउने आशा गरेका छौँ ।’

हाल हायात सेन्ट्रिक ब्रान्डका होटल अमेरिकाको न्युवर्क र सिकागो, स्पेनको मर्डिड, भारतको मुम्बई, ब्याङ्लोर, जापानको टोकियो र हङकङमा अवस्थित छ । हायात प्यालेसको रिब्रान्डिङ गरी हायात सेन्ट्रिक होटल नामाकरण गरेसँगै यसले नेपाललाई पनि हायात सेन्ट्रिक ब्रान्डका होटलहरुमा जोडेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।