ओटिसी बजारबाट ६ महिनामा २२ कम्पनीको साढे ६३ करोडको सेयर किनबेच

0
Shares

चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कार्तिकदेखि पुससम्ममा नेपाल स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटिसी) बाट २२ कम्पनीको ६३ करोड ६५ लाख ७ हजा ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ  । ओटिसी बजारबाट २२ कम्पनीका २४ वटा कारोबार मार्फत ५९ लाख ६७ हजार २२० कित्ता सेयर  खरिद बिक्री भएको हो ।

सिन सीड सर्भिस सेन्टर र मेडिकेयर हस्पिटलको २–२ वटा सेयर कारोबार भएको छ । फरक फरक मूल्यमा किनबेच भएकाले यी कम्पनीको दुई वटा कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार दोस्रो त्रैमासमा न्यूनतम १०० रुपैयाँदेखि उच्चतम १ हजार ८५ रुपैयाँसम्म सेयर किनबेच भएको छ ।

नेप्सेमा अनुसार कार्तिक देखि पुससम्मको अवधिमा ओटिसी बजारबाट कारोबार भएका २२ कम्पनीमध्ये काठमाण्डौं फरेट्रि कलेजको सर्वाधिक १०८५ रुपैयाँ दरमा ५०० कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार भएको सेयर कित्ताका आधारमा नेपाल हस्पिटालिटी एण्ड होटलको २५ लाख ४४ हजार ५२० कित्ता सेयर १०० रुपैयाँका दरमा २५ करोड ४४ लाख ५२ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।

यस्तै मेडिकेयर हस्पिटलको २१ लाख ३३ हजार ९५९ रुपैयाँको १३ हजार ४८९ कित्ता सेयर सेयर १५८.२० पैसामा तथा ७ लाख ९६ हजार ६०० रुपैयाँ बराबरको ७ हजार ९६६ कित्ता सेयर १०० रुपैयाँमा किनबेच भएको छ । अन्नपूर्ण केबलकारको २ लाख ३९ हजार ६०८ कित्ता सेयर प्रतिकित्ता १५० रुपैयाँका दरले ३ करोड ३९ लाख ४१ हजार २०० रुपैयाँमा किनबेच भएको छ ।

यसैगरी सिन सीड सर्भिस सेन्टरको २४५ कित्ताका दरले १६ हजार कित्ता तथा २४० रुपैयाँका दरमा ६ हजार ८४८ कित्ता सेयर किनबेच भएको हो । डियर वाक ग्रुपको २५० रुपैयाँका दरले २६ हजार ५०० कित्ता सेयर ६६ लाख २५ हजार रुपैयाँमा, त्रिशक्ति सेक्युरेटिज पब्लिक लिमिटेडको १२० रुपैयाँका दरले ८ लाख ४९ हजार ८८० कित्ता सेयर १० करोड १९ लाख ८५हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुक बिल्डिङ्गबाट आईपीओ ल्याउने तयारीमा रहेको जगदम्बा स्पिनिङ्ग मिल्सको ९० हजार कित्ता सेयर ११८ रुपैयाँका दरले किनबेच भएको छ । यस अवधिमा चितवन फुड इन्डष्ट्रिज, हिल्टन हाइड्रोपावर र स्नो रिभरको ५।५ लाख कित्ता, श्री डिष्टिलरीको १ लाख, नेपाल जलविद्युत प्रवद्र्धन तथा विकास कम्पनीको २ लाख ४१ हजार ९०७ कित्ता सेयर १०२ रुपैयाँका दरले कारोबार भएको छ ।

ज्योति क्यापिटल, म्याक्स भिजन, टक्सार पिखुवाखोला हाइड्रोपावर, अल फूड इन्डष्ट्रिज, गरिमा क्यापिटल, हिमशिला पावर कम्पनी, एभरेष्ट ग्याँस, लाफा ग्रुप, एग्रो कमर्स नेपाल लिमिटेड लगायतका कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँकै हाराहारीमा किनबेच भएको छ ।

चालु आवको पहिलो ३ महिना (पहिलो त्रैमास) अवधिमा २३ कम्पनीको १ करोड ३६ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ७१ करोड ६ लाख ६८ हजार रुपैयाँमा कारोबार भएको थियो । यससँगै चालु आवको ६ महीना अवधिमा कुल २ अर्ब ३४ करोड ७१लाख ७६ हजार ६८ रुपैयाँ बराबरका १ करोड ९६ लाख ३९ हजार ३४० कित्ता सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जले ओटिसी बजारको सुरुवात २०६४ सालमा गरेको हो । ओटिसी बजारमा कम्पनीको सूचीकरण नभएका, खारेज भएका कम्पनी र सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा हुन नसकेका पब्लिक कम्पनीहरूको सेयर ओटिसी बजारबाट कारोबार हुँदै आएको छ । हालसम्म ओटीसी बजारमा २२६ कम्पनी दर्ता भई कारोबारमा रहेको नेप्सेले जनाएको छ ।

यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयको सूचना अनुसार नेप्सेमा २०७२ माघ १८ गतेदेखि नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरु पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार तथा नामसारी ओटीसी बजार मार्फत गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ