निक्षेप संकलनको औसत ब्याजदर हालसम्मकै उच्च, अन्तर बैंक दर ३.३%

0
Shares

नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई स्थायित्व दिनका लागि प्रयोग गर्ने निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.१४१९ प्रतिशत पुगेको छ । बिहीबार कायम भएको निक्षेप संकलनको औसत ब्याजदर यो वर्षकै उच्च हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर एक प्रतिशत भन्दा तल आयो । त्यसपछि केन्द्रीय बैंकले गत मंसिर देखि माघ ४ गतेसम्म गरेर २२ पटक निक्षेप संलन उपकरण मार्फत तरलता खिच्ने काम ग्रयो । केन्द्रीय बैंक बजार तरलता लगेपछि अन्तर बैंक दर संगै निक्षेप संकलन उपकरणको ब्याजदर पनि बढ्न थाल्यो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिचेसंगै प्रतिस्पर्धा कम हुनुका साथै ब्याजदर बढ्न पुगेको हो । त्यसका साथै बिहीबार अधिकतम दर माग गर्नेले भन्दा पनि न्यूनतम माग्नेले नै विगतको तुलनामा बढाएपछि औसत ब्याजदर बढेको हो ।

अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्छ । राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत तोकिएको छ । निक्षेप संकलन उपकरणको ब्याजदर नै करिडोरको तल्लो सीमा हो ।

मंसिर महिना देखि बिहीबारसम्ममा केन्द्रीय बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ बरावरको निक्षेप माग गरेको छ । त्यसका लागि बैंक वित्तीय संस्थाले ३ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ दिएका छन् । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई दिएको निक्षेप मध्ये बिहीबारसम्ममा ८५ अर्ब रुपैयाँ अझै बाँकी छ । केन्द्रीय बैंकका अनुसार बुधबार वित्तीय प्रणालीमा २६ अर्ब तरलता रहेको थियो । बिहीबार २० अर्बको निक्षेप संकलन पछि त्यसमा पनि घटेको हुन सक्ने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

बुधबार ब्याजदर बढाएर बैंक तथा वित्तीय संस्थाबाट निक्षेप लिन नचाहेको केन्द्रीय बैंकले बिहीबार भने बढाएको छ । बुधबार केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गरेकोमा २४ अर्ब ७० करोड रुपैयाँ बराबरको मात्र निक्षेप लिएको थियो । त्यसपछि वित्तीय प्रणालीमा अझै पनि तरलता धेरै भएको हुनाले अन्तर बैंक दर घट्न सक्ने भन्दै बिहीबारका लागि पनि २० अर्ब निष्कासन गर्ने निर्णय गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने क्रम जारी राखेको अवस्थामा पनि कर्जाको माग अपेक्षा गरेअनुसार बढ्न सकेको छैन । बैंकहरुले कर्जा लगानी गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा ब्याजदर समेत प्रभावित हुन्छ । त्यसैले केन्द्रीय बैंकले तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढावलाई रोक्न निक्षेप संकलन उपकरण प्रयोग गर्छ ।

बिहीबार बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणमा लगानी गर्दा अधिकतम ३.२७ र न्यूनतम २.९१२४ प्रतिशत ब्याजदर माग गरेका छन् । यसको औसत ब्याजदर यो वर्षकै उच्च ३.१४१९ कायम भएको छ । बुधबारको निक्षेप संकलन उपकरणका लागि बैंक वित्तीय संस्थाले अधिकतम ३.२९९९ र न्यूनतम २.८९४४ प्रतिशत ब्याज माग गरेका थिए । बुधबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०९८८ प्रतिशत कायम भएको थियो ।

बिहीबारको निक्षेप संकलन उपकरणको ब्याजदर बुधबारको तुलनामा औसतमा धेरै हो । त्यसका साथै बैंक तथा वित्तीय संस्थाले माग गरेको न्यूनतम ब्याजदर पनि बढेको छ । तर, बैंक तथा वित्तीय संस्थाले बिहीबार बोल गरेको अधिकतम ब्याजदर बुधबारको तुलनामा थोरै हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।