प्रोभिजनको भार बढेपछि माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक


माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थाबाट लगानीकर्तालाई प्रतिफल वितरण गर्न नसक्ने भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विबरण अनुसार जोखिम वापतको व्यवस्थाका लागि ५२ करोडभन्दा बढी रकम प्रोभिजन गरेसँगै वितरणयोग्य मुनाफा ऋणात्मक भएको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा साढे २१ प्रतिशतले घटेको हो ।

ब्याज आम्दानी र व्याज खर्च घटेको बैंकको अन्य शीर्षकका आम्दानीमा आएको गिरावटसँगै सञ्चालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो । खुद नाफामा आएको गिरावटसँगै बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६४ पैसाबाट १३ रुपैयाँ ८६ पैसामा झरेको छ ।

खुद नाफामा आएको गिरावटसँगै प्रोभिजनमा ठुलो रकम सञ्चित गर्दा पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक हुन पुगेको हो । यो रकमलाई प्रतिसेयरमा रुपान्तरण गर्दा ४ रुपैयाँ २५ पैसाले ऋणात्मक हुन आउँछ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ करोड ८० लाख रुपैयाँ हुँदा प्रतिसेयर वितरणयोग्य मुनाफा २० रुपैयाँ ६३ पैसा थियो ।

पुस मसान्तसम्ममा बैंकले ५२ करोड ९७ दाख ८६ हजार रुपैयाँ प्रोभिजन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५ करोड ४७ लाख ५६ हजार रुपैयाँ मात्र प्रोभिजन गरेको थियो । समीक्षा अवधिमा बैंकले प्रोभिजनमा साढे ४७ करोड रुपैयाँ बढी प्रोभिजन गरेको हो । जसको सिधा असर वितरणयोग्य मुनाफामा परेको हो ।

मूल्य आम्दानी अनुपात १४.६५ गुणाले बढी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ तथा निष्कृय कर्जा अनुपात २.६२ प्रतिशत छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको निष्कृय कर्जा अनुपात १.४१ प्रतिशत थियो ।

चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको कमाईबाट बैंकले केही महिना अघि मात्र सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।