सर्वोत्तम सिमेन्टको आईपीओमा ६.३४ गुणा बढी आवेदन

0
Shares

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट ६.३४गुणा बढी आवेदन परेको छ ।

माघ ५ गते शुक्रबार साँझ ५ बजेसम्म १६ लाख ९१ हजार ७१० कित्ता सेयर खरिदको माग परेको हो । कम्पनीले बुक विल्डिङ विधिमार्फत पुस २५ गते बुधबारदेखि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ६७ हजार कित्ता आईपीओ खुला गरेको थियो । शुक्रबारसम्म २५ हजार ८३९ वटा आवेदनबाट ६१ करोड ५ लाख ३८ हजार १३९ रुपैयाँको आवेदन परेको सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

यस्तै कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता आईपीओ पनि पुस २५ देखि नै निष्काशन गरेको छ । कम्पनीको सेयरमा उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नम्बर १, २ र ३, माथागढी गाउँपालिकाको वडा नम्बर ७ र ८ र निस्दी गाउँपालिकाको वडा नम्बर ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आपेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिनु पर्ने छ । उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने माघ १० गतेसम्म सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि माघ २५ गतेसम्म म्याद लम्बिने छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। रेटिङ्ग अनुसार सर्वोत्तम समयमा नै सुरक्षित रुपले वित्तिय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कस्तो छ कम्पनी ?

सन् २०१० मा स्थापना भएको कम्पनीले क्लिंकर र सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको सिमेन्ट उत्पादन क्षमता प्रति वर्ष ४ लाख मेट्रिक टन रहेको छ भने क्लिंकर उत्पादन क्षमता १० लाख मेट्रिक टन रहेको छ । कम्पनीले ‘सर्वोत्तम’ ब्रान्डनामबाट ओपिसी र पिपिसी सिमेन्टको बिक्री वितरण गर्दै आएको छ। सर्वोत्तम सिमेन्ट उद्योगमा सौरभ ग्रुपको लगानी छ भने कम्पनीको प्रमोटर शुभश्री जगदम्बा सिमेन्ट हो ।

चालु आर्थिक वर्षमा सर्वोत्तम सिमेन्टको सिमेन्ट उत्पादन क्षमता ७५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता ८२ प्रतिशत रहने अनुमान गरिएको छ । आव २०८१–८२ मा सिमेनट उत्पादन क्षमता बढेर ८० प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ८६ प्रतिशत तथा आव २०८२–८३ मा सिमेन्ट उत्पादन क्षमता बढेर ८५ प्रतिशत र क्लिंकर उत्पादन क्षमता बढेर ९० प्रतिशत पुग्ने प्रक्षेपण छ ।

चालु आर्थिक वर्ष २०८०–८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ २०७.२२ रुपैयाँ रहने अनुमान छ । यसैगरी चालु आर्थिक वर्ष २०८०–८१ मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी १७.८२ रुपैयाँ रहने अनुमान गरिएको छ भने आव २०८१–८२ मा इपीएस २२.११ रुपैयाँ र आव २०८२–८३ मा २५.४९ रुपैयाँ कायम हुने कम्पनीको प्रक्षेपण छ । आर्थिक वर्ष २०७९–८० सम्म कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।