मङ्सिरमा एक अर्ब माथिको बीमालेख समर्पण, एकै कम्पनीमा ३६ करोड बढी

0
Shares

देशमा छाएको आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ। जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले औसत एक अर्ब मूल्यभन्दा माथिका बीमालेख समर्पण गर्नुले पनि अहिले पनि धेरैले बीमा पोलिसीलाई निरन्तरता दिन नसकेको देखिन्छ ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार मङ्सिर महीनामा १ अर्ब ८ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको बीमालेख समपर्ण/त्याग (सरेण्डर) भएका छन् । चौध जीवन बीमा कम्पनीका ९ हजार ७४४ ओटा बीमालेख समर्पण भएका हुन् ।  चालु आर्थिक वर्षको पहिलो पाँच महीनासम्ममा ५ अर्ब ५३ करोड ३ लाख ३९ हजार रुपैयाँ बराबरको ४४ हजार ९५५ वटा बीमालेख समर्पण भएका छन् । प्रथम चौमास अर्थात कार्तिकसम्म ४ अर्ब ४४ करोड ३२ लाख ४३ हजार ९०० रुपैयाँ बराबरका ३५ हजार २११ वटा बीमालेख त्याग भएका थिए ।

कार्तिक महीनामा ७९ करोड ४९ लाख ८९ हजार मूल्यको ६ हजार ९१ वटा बीमालेख सरेण्डर भएका थिए । बडा दसैं तथा तिहारका कारण बीमा कम्पनीहरुको शाखा पनि बन्द रहँदा कार्तिक महीनामा बीमा कम्पनीहरुको बीमालखको समर्पण संङ्ख्या र रकम पनि घटेको थियो ।  पहिलो तीन महीनामा करिब सवा अर्ब रुपैयाँ मूल्यको बीमालेख समर्पण हुने गरेको तथ्याङ्क प्राधिकरणको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको असोजमा १ अर्ब १८ करोड २९ लाख ९ हजार रुपैयाँ मूल्यका ९ हजार ९३६ वटा, भदौमा १ अर्ब १८ करोड २० लाख ७ हजार मूल्यको ९ हजार ३८६ वटा र साउनमा १ अर्ब २८ करोड ३३ लाख ३८ हजार ९०० रुपैयाँ बराबरका ९ हजार ७९८ वटा बीमालेख बीमालेख सर्मपण भएका थिए ।

नेपाल लाइफ सहित ठूला कम्पनीमा समपर्ण पनि उच्च

नेपाल बीमा प्राधिकरणका अनुसार पुराना र ठूला जीवन बीमा कम्पनीहरुमा पोलेसी त्याग गर्नेहरुको संङ्ख्या पनि उच्च रहेको छ ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार मङ्सिरमा बीमितहरुले त्याग गरेका ९ हजार ७४४ ओटा बीमालेखमध्ये नेपाल लाइफ इन्स्योरेन्समा मात्रै २४ सय ४५ वटा बीमालेख त्याग भएका छन् । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालमा १९ सय ४७ वटा, राष्ट्रिय बीमा संस्थानमा १५ सय ८५ ओटा, एशियन लाइफ इन्स्योन्समा १ हजार ९९ ओटा रहेको छ ।

मङ्सिरमा नेपाल लाइफमा मात्रै ३६ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बीमालेख त्याग भएका छन् । यस्तै एलआईसीमा २२ करोड ८ लाख १४ हजार, राष्ट्रिय बीमा संस्थानमा १२ करोड ५ लाख ६६ हजार र एशियन लाइफमा ८ करोड ७१ लाख ७६ हजार रुपैयाँ मूल्यको बीमालेख समर्पण भएका हुन् । शीर्ष चार कम्पनीमा मात्रै कुल बीमालेख त्याग गर्ने सङ्ख्याको ७२.४१ प्रतिशत र त्याग रकमको ७८.३८ प्रतिशत हिस्सा छ । चार कम्पनीमा ८५ करोड २० लाख ६६ हजार मूल्यका ७ हजार ५६ वटा बीमालेख समर्पण भएका हुन् ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार नेशनल लाइफ इन्स्योन्समा ६ करोड ८२ लाख ७५ हजार रुपैयाँ बराबरको ४२२ ओटा र सूर्यज्याति लाइफ इन्स्योरेन्समा ६ करोड ४९ हजार रुपैयाँ बराबरको ४७४ ओटा बीमा पोलिसी समपर्ण भएका छन् । यस्तै मङ्सिरमा त्याग भएका बीमा पोलेसीको आधारमा हिमालयन लाइफ सातौं स्थानमा रहेको छ । यस कम्पनीमा मङ्सिर महीनामा ५ करोड ८७ लाख ७८ हजार रुपैयाँ बराबरको ७१८ वटा सरेण्डर भएका छन् । यसैगरी मेट लाइफमा ३ करोड ८० लाख ४० हजार रुपैयाँ बराबरका ३२६ वटा बीमालेख सरेण्डर भएका छन् ।

यसैगरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरेका १६० बीमितहरुले मङ्सिरमा २ करोड ३४ हजार रुपैयाँ बराबरको बीमालेख समर्पण गरेका छन् । यसैगरी यस अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा १ करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरका १४० ओटा र आइएमई लाइफ इन्स्योरेन्समा १ करोड १४ लाख ५४ हजार रुपैयाँ बराबरको ११२ ओटा बीमालेख त्याग भएको छ ।

तथ्याङ्क अनुसार मङ्सिर महीनामा सिटिजन लाइफ इन्स्योरेन्समा ९२ लाख ३० हजार रुपैयाँ बराबरका १४६ ओटा, रिलायबल नेपाल लाइफमा ६६ लाख ८६ हजार रुपैयाँ बराबरको ११८ ओटा र सबैभन्दा कम सन नेपाल लाइफमा ६५ लाख ५ हजार रुपैयाँ बराबरको ७२ ओटा बीमालेख त्याग (सरेण्डर) भएको प्राधिकरणको तथ्याङ्क छ ।

मङ्सिरमा २ अर्ब ३४ करोड ९५ लाख ५८ हजार रुपैयाँ नयाँ बीमा व्यवसाय भएकोमा उक्त अवधीमा १ अर्ब ८ करोड ७० लाख ९५ रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको देखिएको हो । नयाँ व्यवसायको ४६ प्रतिशतभन्दा बढी (४६.२७ प्रतिशत) बीमा सरेन्डर हुनुले कम्पनीहरुको दीगोपनामा गम्भिर असर पर्न सक्ने देखिएको छ । मङ्सिर महीनामा नवीकरण बीमाशुल्क सहित कुल १२ अर्ब ३१ करोड ८ लाख ३० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

के हो बीमालेख समर्पण ?

बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने त्यसलाई बीमालेख समर्पण –त्याग–सरेन्डर) भनिन्छ । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । प्राधिकरणको पछिल्लो व्यवस्था अनुसार बीमा गरेको न्यूनतम ३ वर्षपछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ ।

यसअघि बीमा गरेको २ वर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । पछिल्लो अवधि (परिपक्वता) नसकिँदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ ।

प्राधिकरणका अनुसार देशमा उत्पन्न भएको आर्थिक संकट र बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको जनाएको छ । बीमालेख नवीकरणमा अभिकर्ताको प्राथमिकता कम पर्दा तत्कालको लागि कुनै समस्या नदेखिए पनि दीर्घकालीन रुपमा यसको असर जटिल देखिने जानकारहरु बताउँछन् ।

बीमालेख सरेन्डर गर्ने दर बढेसँगै एकल बीमालेखमा कडाई गर्दै प्राधिकरणले सरेन्डरको विषयमा नयाँ व्यवस्था गरेको हो । प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पोलिसी सरेण्डरमा नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।