एक प्रतिशत धनाढ्यहरुको कब्जामा विश्वको ४३ प्रतिशत सम्पत्ति

0
Shares

युनियन बैंक अफ स्वीजरल्यान्ड (युबिएस) को प्रतिवेदन अनुसार हाल विश्वव्यापी रुपमा २ हजार ५४४ जना मानिसहरु डलर अर्बपति रहेका छन् । हालै अक्सफामले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यी डलर अर्बपति मध्येका शीर्ष एक प्रतिशत धनाढ्यहरुले विश्वको कुल सम्पत्तिको ४३ प्रतिशत हिस्सा ओगटेको पाइएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको गरिबी निवारणका लागि काम गर्दै आएको अक्सफामले सार्वजनिक गरेको तथ्यांक अनुसार एशियाका १ प्रतिशत शीर्ष धनाढ्यहरुले एशिया क्षेत्रको कुल सम्पत्तिको ५० प्रतिशत हिस्सा कब्जा गरेका छन् । यस्तै अमेरिकी १ प्रतिशत धनाढ्यले त्यहाँको कुल सम्पत्तिको ३२ प्रतिशत, युरोपेली १ प्रतिशत धनाढ्यहरुले ४७ प्रतिशत र मध्यपूर्वी क्षेत्रका १ प्रतिशत धनाढ्यहरुले त्यस क्षेत्रको ४८ प्रतिशत सम्पत्ति ओगटेका छन् ।

पछिल्लो समयमा विभिन्न विश्वव्यापी रुपमा देशहरुले अपनाएको उदार आर्थिक नीतिका कारण निजी क्षेत्रको प्रभाव बढ्दो छ । कर्पोरेट क्षेत्रको शक्ति आकाशिँदै छ। पुँजीवादका कारण धनी मानिसहरुलाई अझै धनी र गरिब मानिसहरुलाई झन्झन् गरिब बन्दै गएको अक्सफामद्धारा प्रकाशित एक प्रतिवेदनले प्रस्ट देखाएको छ ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लाखौँ मानिसहरुले आफ्नो रोजगारी गुमाए, करोडौँ मानिसहरु गरिबीको रेखामुनि धकेलिए तर यहिँ समय अवधिमा विश्वका शीर्ष पाँच धनाढ्यहरुको सम्पत्ति सन् २०२० देखि २०२३ को अवधिमा ११४ प्रतिशतले बढेको छ । यदि यहि अनुपातमा यी व्यक्तिहरुको सम्पत्ति बढ्दै जाने हो भने आगामी १० वर्षमा विश्वले पहिलो हजार डलर अर्बपत्ति पाउने अक्सफामको आँकलन छ ।

अर्कोतर्फ सोही अवधिमा ५ अर्ब मानिसहरु गरिबीको रेखामुनि परेका छन् । यसरी गरिब मानिसहरु अझ गरिब बन्दै जाँदा आगामी २३० वर्षसम्म विश्वबाट गरिबी अन्त्य नहुने अक्सफामको दाबी छ । विश्वका अधिकांश मानिसहरु गरिब हुँदा धनी मानिसहरुको सम्पत्ति बढ्दै जानुको मुख्य कारण कर्पोरेट क्षेत्रको उदय हो ।

कर्पोरेट क्षेत्रले नाफा कमाउँदा उक्त नाफा कम्पनीमा कार्यरत मानिसहरुमा विभाजन नभई त्यस कम्पनीका मुख्य लगानीकर्ता र प्रमुख कार्यकारी अधिकृत (सिइओ) को खल्तीमा जान्छ । जसकारण वर्षौदेखि त्यहि कम्पनीमा काम गर्दै आएका मानिसको अवस्था परिवर्तन हुँदैन तर कम्पनीको नाफा बढ्दै जाँदा त्यस कम्पनीको मालिक वा लगानीकर्ताको सम्पत्ति बढ्दै जान्छ । यसले धनी र गरिब मानिसहरुबीचको आर्थिक असमानतालाई थप प्रश्रय दिँदै आएको छ ।

कर्पोरेट क्षेत्रको शक्तिको आकलन कसरी गर्न सकिन्छ भने हाल विश्वका १० मध्येका ठूला कर्पोरेट हाउसहरुमा लगानी गर्ने प्रमुख लगानीकर्ता या त कम्पनीको सिइओ डलर अर्बपति बनेका छन् । तर कम्पनीको स्थापनाकाल देखि कम्पनीमा काम गर्दै आएका मानिसहरुको तलबमा वृद्धि नहुँदा विभिन्न समयमा विश्वका ठूला कम्पनीमा कार्यरत मानिसहरुले गरेको आन्दोलनको समाचारले अन्तराष्ट्रिय समाचार माध्यममा ठूला–ठूला हेडलाइन बनाइ प्रस्तुत समेत गरिएको छ ।

सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेन र सन् २०२३ को अक्टोबर महिनादेखि सुरु भएको युद्धका कारण सर्वसाधारण मानिसहरुको क्रय शक्ति घट्दै गएको छ । खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य आकाशिँदा विश्वव्यापी रुपमा भोकमरीको सङ्ख्या बढ्दै गएको छ । तथापि धनी मानिसहरुको सम्पत्ति क्रमिक रुपमा बढ्दै गएको अक्सफामको प्रतिवेदनले देखाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण धरासायी भएका विकासोन्मुख अर्थतन्त्र पूर्ण रुपमा रिकभर हुन नपाउँदै रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व अर्थतन्त्र थप निराशातर्फ धकेलिएको थियो । रुस विश्वको शीर्ष पेट्रोलियम पदार्थ उत्पादक कर्ता र युक्रेन शीर्ष गहुँ तथा तेल उत्पादक राष्ट्रमा युद्धमा होमिदा खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य आकाशियो जसकारण मुद्रास्फीति ऐतिहासिक उच्च विन्दुमा पुग्यो । मुद्रास्फीति नियन्त्रण गर्न विश्वका अधिकांश केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा ब्याजदर बढाए जसकारण कर्जा लिएर उद्यम व्यवसाय गरेका मानिसहरु टाट पल्टिने सङ्ख्या बढ्दै गयो ।

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ बैंक, युरोपेली केन्द्रीय बैंक, बेलायती केन्द्रीय बैंकले ब्याजदर बढाउँदा मानिसहरुले लिएको कर्जाको दर बढ्दै गयो र क्रय शक्ति कमजोर हुँदै गयो । अक्सफामका अनुसार निम्न तथा निम्न मध्यम आय भएका राष्ट्रहरुले दैनिक ५० अर्ब डलर ब्याज तथा ऋण भुक्तानीमा खर्चिने गरेका छन् । निम्न आय भएका देशहरुले भौतिक पूर्वाधार विकास तथा देशको सर्वाङ्गीण विकासका लागि विभिन्न दात्री संघसंस्थासँग ऋण सहयोग लिँदा ती देशहरुको ऋण बढ्दै गएको छ ।

उदार आर्थिक नीति अपनाएका निम्न आय भएका देशहरुमा निजी क्षेत्र बलियो हुँदै जाँदा सरकारद्धारा स्थापित कम्पनीहरुको शक्ति घट्दै गएको छ । सरकारले कर्पोरेट क्षेत्रको नियमनका लागि उपर्युक्त कदम लिन नसक्दा गरिब र धनीबीचको खाडल बढेको छ । कर्पोरेट क्षेत्रकै देनले धनी र गरिबबीचको खाडल विश्वव्यापी रुपमा यसरी बढिरहेको छ कि विश्वका ५ धनाढ्यको सम्पत्ति बढ्दा ५ अर्ब मानिसहरु गरिबीको रेखामुनि धकेलिएका छन् ।

बढ्दो आर्थिक असमानता न्युनिकरणका लागि अक्सफामले राष्ट्रहरुलाई कर्पोरेट क्षेत्रलाई उचित करको दायरामा लिई नियमन गर्न, व्यवसायहरुलाई नवीकरण गरि लगानीकर्ताले मात्रै नभई ती कम्पनीहरुमा कार्यरत मानिसहरुको क्षमता वृद्धिका साथै जीवनस्तर उकास्न सहयोग गर्न र राष्ट्रले थप जिम्मेवारी भूमिका निर्वाह गर्न सुझाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।