कच्चा पदार्थको सहज आपूर्ति नहुँदा सुनका गहनाको निर्यात साढे ४ गुणाले घट्यो

0
Shares

सुनका गहनाको निर्यातमा कमी आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ करोड ३० लाख ५८ हजार रुपैयाँ बराबरको २ हजार ८२५ ग्राम सुनका गहना निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाले कम हो ।

गत आर्थिक वर्षको ६ महिनाको अवधिमा १० करोड ५ लाख १५० रुपैयाँ बराबरको ११ हजार ४७२ ग्राम सुनका गहना निर्यात भएको थियो । यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३४ करोड ४९ लाख ९३ हजार रुपैयाँ बराबरको ४० हजार ३२८ ग्राम सुनका गहना निर्यात भएको थियो ।

यो तथ्यांकले सुनका गहना निर्यातमा निरन्तर गिरावट आएको देखिन्छ । तीन वर्षको अन्तरालमा सुनका गहना निर्यात १४ गुणाले घटेको छ ।

सुनको गहना निर्यातमा एकद्वार प्रणाली लागु नभएसम्म धेरै गहना निर्यात गर्न नसकिने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । सुनका गहना निर्यातमा सहजता नभएकोले पनि यसको निर्यातमा कमी आएको उनको भनाई छ । आर्थिक मन्दीका कारण सुन आयात नगरीएको बताउँदै अध्यक्ष शाक्यले भने, “सुनको मागमा कमी आएको छ । माग नै नभएपछि सुन आयातमा कमी आएकोले यसको गहना निर्यातमा पनि कमी देखिएको हो ।”

सुन भाउ एक लाख नाघेदेखि नै सुनको गहना निर्यातमा कमी थाउन थालेको छ । यस्तै अहिले विदेशमा सुनको गहना भन्दा पनि सुन नै मौज्जात राखिने प्रचलनले यसको निर्यातमा कमी आएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए । सिजनको समयमा पनि सुनको माग नबढ्नु अहिलेको मुख्य समस्या भएको उनको भनाई छ। “सुनको भाउमा बढिरहँदा क्रयशक्ति नबढ्नु नै मुख्य समस्या हो” उनले भने ।

भन्सार विभागका अनुसार गत आवको ६ महिनाको तुलनामा सुन आयात १७ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । चालु आवको ६ महिनामा नेपालमा ११ अर्ब ८८ करोड ६३ लाख ६९ हजार रुपैयाँ बराबरको १४ लाख २४ हजार ग्राम सुन आयात भएको छ । जबकी गत वर्षको यसै अवधिमा २९ अर्ब २० करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको १८ लाख ३५ हजार ग्राम सुन आयात भएको थियो ।

निर्यात घट्दा कालिगढ समस्यामा

सुनचाँदीको गरगहना नेपालमा करिब २ लाख कालिगढले काम गरिरहेका छन् । तीमध्ये ७५ प्रतिशत विदेशी जागरिक हुन् भने २५ प्रतिशत नेपालका हुन् । अन्तराष्ट्रिय बजारमा सुनको गहनाको बजार नहुँदा ती २ लाख कालिगढ समस्यामा परेका छन् । कतिपय त व्यवसायबाट नै पलायन भइसके । सुनको आपूर्तितिर सरकारको ध्यान नजादा भएका कालिगढले पनि काम पाउन छाडेको पूर्व अध्यक्ष शाक्य बताउँछन् । सुनका गहना बनाउने कच्चा पदार्थ समयमा नआउँदा कालिगढ लगायत समग्र निर्यात प्रणलीमा नै असर गरेको उनको भनाई छ ।

कोरोना भाइरसको समयमा गरिएको लकडाउनका कारण नै धेरैजसो कालिगढ आफ्नो पेसाबाट पलायन भएको बताउँदै शाक्यले भने, “आर्थिक वर्ष २०७५/७६ को तुलनाका सुनका गहना निर्यात त बढेको नै हो तर अझै यसले गति नलिदाँ कालिगढ अझै समस्यामा छन् ।” सरकारले कच्चा पदार्थको सहज आपूर्ति र सुन आयातमा अझै सहजता प्रदान गरिदिए कालिगढको समस्या अन्त्य हुने उनको भनाई छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।