क्यानाडामा हाउजिङ संकटले विकराल रुप लिँदै, विद्यार्थी भिसामा कडाइ

0
Shares

क्यानाडामा हाउजिङ संकटको समस्याले विकराल रुप लिँदै गएको छ । हाउजिङ संकट व्यवस्थापनको कारण देखाउँदै क्यानाडाले अन्तराष्ट्रिय विद्यार्थीलाई दुई वर्षका लागि विद्यार्थी भिसामा कटौती गरेको छ ।

क्यानाडामा विभिन्न मुलुकहरुबाट गएका २५ लाख ११ हजार बढी आप्रवासी बसोबास गर्छन् । सन् २०२३ मा आप्रवासीहरुको सङ्ख्यामा भएको बढोत्तरी सन् १९८७ यताकै उच्च हो ।

सन् २०२३ मा क्यानाडाको अध्यागमन मन्त्रालयले ९ लाख अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि भिसा खोलेकोे थियो । तर जनवरी २२ मा अध्यागन मन्त्री मार्क मिलरले अन्तराष्ट्रिय विद्यार्थीको चाप बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाह अवरोध भएको, शिक्षाको गुणस्तर खस्किँदै गएको र घरभाडा आकाशिएको तर्क दिँदै विद्यार्थी भिसामा दुई वर्ष कडाइ गर्ने निर्णय गरेका छन् ।

मार्कले स्नातक तह (अन्डरग्य्राजुएड)मा पढ्न जाने विद्यार्थी तथा पोस्ट ग्य्राजुएड (पिजि) मा अध्ययन गर्ने विद्यार्थीहरुको पार्टनरलाई क्यानाडा प्रवेश गर्न केही समय रोक लगाउने बताएका छन् । सन् २०२४ मा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि ३ लाख ६० हजार भिसा उपलब्ध गराउने निर्णय अध्यागमन विभागले गरेको छ ।

शैक्षिक गन्तव्यका लागि विश्वव्यापी रुपमा प्रख्यात बन्दै गएको क्यानाडाका विश्वविद्यालयहरुमा आप्रवासी विद्यार्थीहरु भर्ना भएता पनि त्यहाँ उपलब्ध घर तथा अपार्टमेन्टहरुमा ती विद्यार्थीहरुलाई अटाउन क्यानाडा सरकारलाई धौधौ परेको मार्ककै तर्कबाट आकलन गर्न सकिन्छ । स्टाटिस्टीक क्यानाडाका अनुसार हाल क्यानाडामा करिब ४ करोड ६ लाख मानिसहरु बसोबास गर्छन् । एक परिवारमा औसत २.४५ मानिसहरु बसोबास गर्ने गरेका छन् ।

अध्यागमन मन्त्रालयले देशमा उपलब्ध हाउजिङ स्रोतको अध्ययन नगरी विद्यार्थीहरुलाई भिसा दिँदा हाल क्यानाडाले हाउजिङ संकटको समस्या भोगिरहेको छ । आप्रवासीको सङ्ख्यामा वृद्धि भएता पनि त्यहाँको स्थानीय तथा संघीय सरकारले घर तथा अर्पाटमेन्ट निर्माणलाई तीव्र गति नदिँदा हाल क्यानाडामा घरभाडा आकाशिएको छ । सन् २०२३ को डिसेम्बर महिनामा मात्रै क्यानाडामा घरभाडा दर ७.७ प्रतिशतले बढेको छ ।

हाल क्यानाडाको यस निर्णयलाई लिएर विश्वभर चर्चा भइरहेको छ । हाउजिङको समस्या समाधानका लागि अन्तराष्ट्रिय विद्यार्थीहरुलाई दुई वर्षसम्म भिसा कटौती गर्नुको सट्टामा घर तथा अपार्टमेन्टको निर्माण तीव्र शैलीमा बढाउनु पर्ने क्यानाडाकै च्याम्बर अफ कमर्शले जनाएको छ । अन्तराष्ट्रिय विद्यार्थीहरु क्यानाडा प्रवेश गर्दा व्यवसाय बढ्ने र अर्थतन्त्र चलायमान हुने धारणा च्याम्बर अफ कमर्शको रहेको छ।

कोभिड–१९ का कारण शैक्षिक संस्थाहरु बन्द हुँदा क्यानाडा, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई दिइने भिसाको सङ्ख्या बढाएका थिए । जसकारण सन् २०२१ मा क्यानाडामा आप्रवासीहरुको सङ्ख्या १३ लाख थियो तर सन् २०२३ उक्त सङ्ख्या १२ लाखले बढेर २५ लाख बढी पुगेको छ ।

कोभिडको समयमा अन्तराष्ट्रिय विद्यार्थीहरुले त्यहाँका विश्वविद्यालयहरुमा भुक्तानी गर्ने रकमले नै अधिकांश क्यान्डियन कलेज तथा विश्व विद्यालयहरुको नाफा गरिरहेका थिए । विद्यार्थीहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न कलेज तथा विश्व विद्यालयहरुले शाखा बिस्तार गर्ने काम गरिरहेका छन् । तर क्यानाडाले विद्यार्थी भिसा कटौती गर्दा त्यसको प्रभाव त्यहाँका कलेजमा र क्यानाडा जाने तयारीमा रहेका विद्यार्थीहरुमा पर्ने देखिन्छ।

यस्तै विद्यार्थी भिसामा क्यानाडा जाँदा अन्तराष्ट्रिय विद्यार्थीहरुले अनिवार्य रुपमा ग्यारेन्टीड इन्भेष्टमेन्ट सर्टिफिकेट (जीआइसी) का लागि क्यानेडियन २० हजार डलर क्यान्डाका बैंकहरुमा भुक्तानी गर्ने गरेका छन् । विद्यार्थीहरुको उक्त निक्षेपबाट क्यानाडाका बैंकहरुले मनग्य आम्दानी समेत गरिरहेका छन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले वार्षिक रुपमा क्यानाडाको अर्थतन्त्रमा २२ अर्ब क्यानेडियन डलर बराबरको योगदान गर्ने गरेका छन् । जुन क्यानाडाको अर्थतन्त्रको १.१४ प्रतिशत हो ।

कोभिड–१९ का कारण शिथिल भएको अर्थतन्त्र पुर्न ःताजिकरण हुन नपाई सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रुपमा महंगी बढेको छ । खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण क्यान्डाको केन्द्रीय बैंकले समेत मूल्यवृद्धि नियन्त्रण गर्न आक्रामक शैलीमा ब्याजदर बढाएको थियो ।

सन् २०२२ यता विभिन्न समयमा गरी १० पटकसम्म ब्याजदर बढाएको क्यान्डाको केन्द्रीय बैंकले सन् २०२४ मा ब्याजदर ५ प्रतिशतमा स्थिर रहने संकेत गरेको छ। तथापि ब्याजदर बढ्दै जाँदा मानिसहरुको क्रयशक्ति कमजोर भएको छ । क्रयशक्ति कमजोर भएकाले मानिसहरुले घर निर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न सकेका छैनन् । बढ्दो जनसङ्ख्या र सिमित स्रोत साधन हुँदा हाल क्यान्डामा मात्रै नभई विश्वका अन्य देशहरुमा समेत हाउजिङ संकटको समस्या देखिएको छ । – एजेन्सीको सहयोगमा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।