काठमाडौँको बालाजु पार्कमा ग्राउण्ड वाटर रिचार्ज प्रणाली जडान, महानगरलाई हस्तान्तरण


कोका–कोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटरएड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा ग्राउण्ड वाटर रिचार्ज प्रणाली सफलतापूर्वक जडान गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका( कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा गरेका हुन् ।

सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना यही माघ ५ गते सम्पन्न भएको हो । यस रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् ।

उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यो प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ भने यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरु हुन् ।

यस परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नुका साथै पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्ड वाटर रिचार्ज अत्यावश्यक भएको र आगामी दिनमा यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्ने प्रतिबद्धता जनाएकी थिइन् । काठमाडौँ जस्तो सहरमा ग्राउण्ड वाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनको भनाई थियो ।

काठमाडौँ उपत्यकाका बासिन्दाका लागि पहिलेदेखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्ड वाटर हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका श्रोतहरू हुन्, जुन उपत्यकामा जताततै देख्न सकिन्छ ।

तर पछिल्लो दुई दशकदेखि चलेको ग्राउण्ड वाटरको अत्यधिक उत्खनन, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ । वर्षाको प्याटर्नमा भएको परिवर्तन तथा छोटो अवधिमा नै हुने व्यापक वर्षाले ग्राउण्ड वाटर रिचार्ज हुने प्राकृतिक प्रक्रियामा पनि केही प्रभाव पारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।