व्यवसायिक दायरा बढाउनेगरी लघुबीमा निर्देशन संशोधन

0
Shares

नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायीक दायरा बढाउन सहज पुग्नेगरी लघुबीमा निर्देशनलाई संशोधन गरेको छ । प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन, २०७९ मा रहेको व्यवस्थामा नीतिगत लचकता अपनाउँदै  लघु बीमा कम्पनीहरुको ब्यवसाय सुनिश्चित हुनेगरी लघुबीमा (प्रथम संशोधन) निर्देशन, २०८० जारी गरेको हो ।

संशोधनमा लघुबीमा कम्पनीहरुको ब्यवसायिक दायरालाई फराकिलो पारिएको छ । लघु निर्जीवन बीमा गर्ने बीमकलाई मोटर लघुबीमा र लघु जीवन बीमा कम्पनीलाई वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न अनुमति प्रदान गरिएको हो । लघु बीमा गर्न अनुमति पाएपनि सीमित प्रडक्ट मात्र बिक्री गर्न पाउने व्यवस्था रहेकाले लघुबीमकहरुले प्राधिकरणसँग विद्यमान दायरा विस्तार गर्न माग गर्दै आएका थिए ।

लघु निर्जीवन बीमा गर्ने बीमकलाई ५० लाख दायित्वसम्मको मोटर लघुबीमा र तेस्रो पक्ष बीमा गर्न पाउने व्यवस्था संशोधन मार्फत गरिएको छ । प्राधिकरणले दफा २० को उपदफा (१) मा संशोधन गर्दै ५० लाख दायित्वसम्मको मोटर लघुबीमा र मोटर बीमादर सम्बन्धि निर्देशिका २०७३ बमोजिम मोटर तेस्रो पक्ष बीमा ( थर्ड पार्टी) लघुबीमा गर्ने पाउने व्यवस्था थपेको हो । लघुबीमा (प्रथम संशोधन) निर्देशन, २०८० अनुसार लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले मोटर लघुबीमामा अधिकतम दायित्व ५० लाखको सीमा भित्र रही व्यवसाय गर्न सक्नेछन् ।

यसअघि लघुबीमा कम्पनीले मोटर लघुबीमा अन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तर्गत पर्ने कृषि उपकरण, मोटरुसाइकल, ट्राइसाइकल, मोपेड, ट्रयाम्पु, रक्सा, ठेलागाडाको मात्रै बीमा गर्न पाउने व्यवस्था थियो । यसैगरी लघुबीमा निर्देशन, २०७९ मा निर्जीवन लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ लघु बीमा गराउन पाउने व्यवस्था रहेको थियो । साथै पाँच लाख रुपैयाँसम्मको दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमा गर्न पाउने व्यवस्था छ । प्राधिकरणले लघुबीमाको दायरा बढाउन मोटर तेस्रो पक्ष बीमा गर्न पाउने व्यवस्था गरेको हो ।

यस्तै नयाँ व्यवस्थामा प्राधिकरणले जारी गरेको निर्देशिका वा स्तरीकृत बीमालेख बमोजिम बीमा गर्दा सोही निर्देशिका वा बीमालेखमा उल्लेख भए बमोजिमको प्रत्यक्ष बीमा वापतको छूट प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यअसघि बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री (प्रत्यक्ष बीमा) गरिएको हकमा पाँच प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सकिने बाहेक लघुबीमाशुल्कको बीमालेखमा कुनै पनि प्रकारको छुट (डिस्काउन्ट), प्रदान गर्न वा बीमाशुल्क कटौति गर्न वा सहुलियत दिन नपाइने व्यवस्था थियो ।

त्यस्तै, प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमासम्बन्धी निर्देशन संशोधन गरेर लघुबीमा कम्पनीहरुलाई १० लाख रुपैयाँसम्मको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्ने बाटो खुला गरेको छ । लघुबीमा निर्देशन २०७९ को दफा २० को उपदफा (३) पछि उपदफा (४) थप्दै यस्तो व्यवस्था गरेको हो । जसमा उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि वैदेशिक रोजगार (म्यादी) जीवन व्यवसायका लागि बीमाङ्कको सीमा प्राधिकरणले जारी गरेको स्तरीकृत वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्बन्धि निर्देशनमा उल्लेख भए बमोजिम हुने भनिएको छ । लघुबीमा निर्देशन २०७९ मा लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ भन्दा कम बीमाङ्क रकमको मात्र जीवनको लघुबीमा गर्न पाउने व्यवस्था थियो ।

यसअघि ठूला बीमा कम्पनीले मात्रै वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय गर्दै आएकोमा वैदेशिक रोजगार म्यादी जीवन बीमासम्बन्धी निर्देशन संशोधन गरेर लघु जीवन बीमा कम्पनीहरुले पनि म्यादी बीमा गर्न पाउने व्यवस्था गरिएको हो । लघुबीमा निर्देशन, २०७९ ले लघुबीमा व्यवसायमा जीवनतर्फ कम्पनीहरुले आजीवन, सावधिक, म्यादी र अन्य लघु जीवन बीमा व्यवसाय गर्न पाउने व्यवस्था गरेको थियो ।

सरकारले वैदेशिक रोजगारीमा जान प्रत्येक श्रमिकलाई अनिवार्य रुपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेर मात्र रोजगारीमा जान पाउने व्यवस्था गरेको छ। नेपालबाट हरेक वर्ष वैदेशिक रोजगारीमा जाने यात्रु बढ्दो क्रममा रहेका छन् । गत आर्थिक वर्षमा मात्रै पौने ८ लाख जनाले श्रम स्वीकृति लिर वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । बढ्दो वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या र अनिवार्य बीमा गर्नुपर्ने प्रावधानका कारण जीवन बीमा व्यवसायमा यसको हिस्सा धेरै छ । नयाँ संशोधनले सीमित प्रडक्टहरु बिक्री गरिरहेका लघु जीवन बीमकको व्यावसाय बढाउन मद्दत्त मिल्ने प्राधिकरणको बुझाई छ।

वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक न्यून आए भएका व्यक्तिहरु हुने भएकाले लघुबीमा कम्पनीके स्थापनको उदेश्य अनुसार लघुबीमा कम्पनीलाई मात्रै वैदेशिक रोजगार म्यादी जीवन बीमालेख ब्रिकी गर्ने व्यवस्था गर्नुपर्ने लघु जीवन बीमक कम्पनीहरुको माग छ।

लघुबीमा व्यवसायको विकास, प्रवद्र्धन तथा व्यवस्थापन गरी बीमा मार्फत न्यून आय भएका वर्ग, पीछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायको जीवन तथा सम्पनिको सुरक्षा गर्नका लागि प्राधिकरणले चार निर्जीवन र तीन जीवन गरी ७ ओटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न अनुमति दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।