सानिमा जिआईसी इस्योरेन्सले सेयरधनीलाई बनायो निराश, लाभांश वितरण नगर्ने

0
Shares

सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको माघ १० गते अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको १३४ औं बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

दुई संस्थाको मर्जरपछि लाभांश पाउने आशामा रहेका लगानीकर्ता सञ्चालक समितिले लाभांश नदिने निर्णय गरेसँगै निराश बनेका हुन् । बैठकले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति गरी सेयरधनीहरुलाई लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार बैठकले नेपाल बीमा प्राधिकरणबाट जारी निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन तथा नेपाल वित्तमान प्रतिवेदन (एनएफआरएस) बमोजिम तयार गरी बाह्य लेखापरीक्षक समेतले हस्ताक्षर गरि नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको हो ।

साबिक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर भई कायम भएको सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को अपरिष्कृत वित्तीय विवरण अनुसार २८ करोड १ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनी स्थापना भएयता सेयरधनीले लाभांश पाएका छैनन् । साबिकका दुबै कम्पनीले २०७७ असोजमा जारी पुँजीको ३० प्रतिशत बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेका थिए ।

दुई कम्पनीको मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ भने दोस्रो बजार मूल्य प्रतिकित्ता ५५१ रुपैयाँ हाराहारीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।