मारुति सिमेन्ट र बरुण इन्भेष्टमेन्टले मागे आईपीओ बिक्री अनुमति, पाइपलाइनमा १४ करोड ७६ लाख कित्ता

0
Shares

मारुती सिमेन्ट लिमिटेड र बरुण इन्भेस्टमेन्ट लिमिटेडले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग आईपीओ बिक्रीको अनुमति मागेका छन् । मारुती सिमेन्ट लिमिटेडले प्रिमियम मूल्य तथा बरुण इन्भेष्टमेन्टले अंकित मूल्यमा आईपीओ ल्याउने भएका हुन् ।

सेबोनका अनुसार मारुती सिमेन्ट लिमिटेडले अंकित मूल्य एक सय रुपैयाँमा १७७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता सेयर निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले पुस २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

मारुती सिमेन्टको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टिङ बैंकिङ लिमिटेड नक्साल रहेको छ । हाल ८ ओटा उत्पादनमुलक कम्पनी नेप्सेमा सूचीकृत छन् । सर्वोत्तम र रियायन्स स्पीनिङ्ग मिल्सले आईपीओ बिक्री गरिरहेका छन् । मारुतिसँगै उत्पादनमुलक कम्पनीको सङ्ख्या थप बढ्नेछ ।

व्यापारिक घराना राठी तथा गोयल ग्रुपको संयुक्त लगानी रहेको मारुती सिमेन्ट उद्योगमा सोही घरानाका नै प्रमोटर रहेका छन् । नन्द किशोर राठीको नेतृत्व र सुनिल खेम्काको व्यवस्थापनमा कम्पनी सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०२२ मा ५ अर्ब ५ करोड सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२३ मा १४ प्रतिशतले घटेर ४ अर्ब ३३ करोडमा खुम्चिएको छ ।

राठी र गोयल ग्रुपको लगानी रहेको मारुती सिमेन्टको आम्दानीमा गिरावट

सन् १९९४ मा स्थापना भएको मारुती सिमेन्ट उद्योगलाई सन् २००५ मा हालको व्यवस्थापन (राठी र गोयल ग्रुप) ले अधिग्रहण गरेको थियो । प्रतिदिन २० हजार मेट्रिक टन सिमेन्ट उत्पादन र १ हजार ५०० मेट्रिक टन क्लिंकर उत्पादन क्षमता रहेको उद्योगले क्षमता बिस्तारको काम अघि सारेको छ । प्रतिदिन १८ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने उद्देश्य राखेको कम्पनीले क्षमता बिस्तारका लागि कर्जा लिने भएको छ ।
कम्पनीले उपलब्ध गराएको वित्तीय विवरणका आधारमा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.४१ गुणा रहेको छ ।

कम्पनीले ५ अर्ब ५५ करोड ६५ लाख रूपैयाँ बराबरको कर्जाका लागि साख मूल्यांकन गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ३ अर्ब ६५ करोड ८४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ‘केयर एनपी ए माइनस’ र १ अर्ब ८९ करोड ८१ लाख बराबरको अल्पकालीन कर्जाका लागि ‘केयर एनपी ए–२ प्लस’ रेटिङ दिएको छ ।

यसैगरी बरुण इन्भेस्टमेन्ट लिमिटेडले पनि अङ्कित मूल्यमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २४ लाख ७५ हजार कित्ता आईपिओ ल्याउन पुस २५ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । उक्त कम्पनी लगानी समुहको कम्पनी रहेको छ ।

बरुण इन्भेष्टमेन्ट लिमिटेड (बिआईएल) सन् २०१५ मे महीनामा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियो । कम्पनी जुलाई २०२१ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । कम्पनीको कर्पोरेट कार्यालय भानिमण्डल, ललितपुरमा अवस्थित छ । बिआईएलका प्रमुख सेयरधनीहरुमा शिवप्रसाद घिमिरेको ४६.९८ प्रतिशत, भोलेश्वर दुलालको ११.२८ प्रतिशत, प्रमिला दुलाल (आचार्य) को ७.६० प्रतिशत र उमेश ढकालको ६.७१ प्रतिशत रहेको छ ।

बरुण इन्भेष्टमेन्टले आफ्ना लगानीकर्ता कम्पनीहरू मार्फत तीनवटा जलविद्युत आयोजनामा ​​लगानी गरेको छ । जसमा सानिगड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), र बुङ्गल हाइड्रो लिमिटेड (१०.४) मेगावाट रहेको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले बरुण इन्भेस्टमेन्ट लिमिटेडलाई आईआरएन बी सिंगल बी इस्यूअरको जारीकर्ता रेटिङ तोकेको छ। यस रेटिङको साथ जारीकर्तालाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पूर्वनिर्धारितको उच्च जोखिम मानिन्छ ।

बरुण इन्भेस्टमेन्टले ग्लोबल आएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

थप दुई कम्पनी थपिएसँगै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको कम्पनीको सङ्ख्या २९ ओटा पुगेको छ । यी कम्पनीले १४ करोड ७६ लाख ९७ हजार ३८२ कित्ता सेयर बिक्री गर्न अनुमति मागेका हुन् । प्रिमियम सहित कुल २३ अर्ब ६७ करोड ७५ लाख ५४ हजार ७६५ रुपैयाँ बराबर रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।