सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै बढ्यो नाफा

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफा पनि बढेको छ । सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क संकलन ४.२३ प्रतिशत र खुद नाफा २.७३ प्रतिशतले बढेको हो ।

वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले २ अर्ब ५७ करोड २१ लाख खुद बीमाशुल्क र १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा खुद बीमाशुल्क २ अर्ब ४६ करोड ७६ लाख र खुद नाफा १२ करोड ३ लाख ६६ हजार रुपैयाँ थियो ।

अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले चुक्ता पुँजी ३ अर्ब ७५ करोड रहेको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६० पैसा कायम गरेको छ । गत वर्ष यस्तो आम्दानी ९ रुपैयाँ १७ पैसा थियो । सर्वसाधारणमा सेयर जारी भएर चुक्ता पुँजी बढेसँगै प्रतिसेयर आम्दानी घटेको हो । यस अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६८.६ गुणा छ ।

दोस्रो त्रैमासको अवधिमा अभिकर्ता कमीशन मार्फत साढे २७ करोड रुपैयाँ खर्चिएका छन् । कम्पनीको जीवन बीमाकोषमा १२ अर्ब ७ करोड २० लाख, महाविपत्तीकोषमा १४ करोड ९६ लाख र जगेडा कोषमा ६८ करोड ९५ लाख रुपैयाँ सञ्चित छ । चालु वर्षको दोस्रो त्रैमासमा कम्पनीले प्रिमियम वापत कुल २ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्ष यस अवधिमा प्रिमियम रकम २ अर्ब ६६ करोड रुपैयाँ थियो ।

लगानी तथा ऋण प्रवाह गरी कम्पनीले प्राप्त गरेको आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । यस्तो आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ४८ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबर रहेकोमा बढेर ७४ करोड ८ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५५ करोड २० लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको रिटेर्न अर्र्निङ्गमा ६८ कराड ९६ लाख र अन्य इक्वीटी ६५ करोड १२ लाख बराबरको रहेको छ । कम्पनीमा ३ लाख ८६ हजार २९३ ओटा बीमालेख बिक्री गरेको छ । कम्पनीको दीर्घकालीन लगानी १६ अर्ब १० करोड २७ लाख र अल्पकालीन लगानी ६५ करोड ३२ लाख रुपैयाँ बराबर छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।