यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा आह्वान, लाभांश पारित गर्ने

0
Shares

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न आगामी फागुन ६ गते आइतबार साधारण सभा डाकेको छ । अनमोल ब्याङकेट शंखमुलमा बिहान ११ बजे कम्पनीले ३० औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको सञ्चालक समितिको २३ औं बैंठकले साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिबाट प्रस्तावित १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रूपैयाँको १०.२६१२ प्रतिशत बोनश र बोनस सेयरको कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त लाभांश प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सभाले बोनस सेयर जारी गर्दा भिन्न अंकमा आउने सेयरलाई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात कायमै राखि नजिकको पूरा अंक कायम गर्ने, साथै बोनस सेयर जारी गर्दा जारी तथा चुक्ता पूँजीवृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सभामा कम्पनीको संस्थापक तथा सर्वसाधारण सेयरको अनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोही मोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले समूह संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सभाले कम्पनीका अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०८०–८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते सोमबार एकदिन बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार माघ २१ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।