रिलायन्स स्पिनिङको आईपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म मात्र आवेदन दिनसक्ने

0
Shares

योग्य संस्थागत लगानीकर्ताले माघ १० गतेदेखि खुला भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओमा आजसम्म मात्रआवेदन दिन पाउनेछन् ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई जारी पुँजी १ अर्ब ९० करोड रूपैयाँको १०.१४ प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बिक्री खोलेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई बोलकबोल प्रणालीमार्फत आईपीओ बिक्री गर्न लागिएको हो ।

हाल सर्वसाधारणमा बिक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा बिक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम ४० प्रतिशतले हुन आउने आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा बिक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्तालाई प्रति सेयर ६०८ रूपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्य सीमाभित्र रहेर आवेदन दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्तामा पूर्ण रुपमा बिक्री हुँदा कायम मूल्य कट अफ मूल्यमा १० प्रतिशत घटाएर दोस्रो चरणमा बाँकी ६० प्रतिशत (१९ लाख २६ हजार ६०० कित्ता) आईपीओ सर्वसाधारणका लागि जारी हुनेछ ।

बोर्डले पुस १९ गते कम्पनीलाई बुक विल्डिङ विधिबाट पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मात्र आईपीओ बिक्री गर्न अनुमति प्रदान गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न प्रयाप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।